कांग्रेसका उपसभापतिद्वयले भने – अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन हुनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् उपसभापति गुरुङले बजेट निर्माणको क्रममा ‘बिचौलियलालाई प्रवेश गराएको’ विषयमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सिसि क्यामरामार्फत् निगरानी गरिन्छ’, उनले भने, ‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ ।
विवाद समाधानका लागिः
१. छानबिन समिति गठन
२. छानबिन समितिलाई सहयोगका लागि राजीनामा
३. बर्खास्त !’
त्यस्तै, उपसभापति खड्काले पनि ‘अर्थमन्त्री प्रकरण’बारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए ।
बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएकाे र करका दर हेरफेर गरेको आरोप अर्थमन्त्रीमाथि छ ।








