पदाधिकारी टुङ्ग्याउने बहुमत सदस्यहरूकाे मागपछि प्रचण्डले भने- ‘मतदान नगराैँ, सहमतिमा टुङ्ग्याउँ’

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] काे खुमलटारमा चलिरहेकाे पूर्वस्थायी समितिकाे बैठकमा बहुमत सदस्यहरूले केन्द्रीय पदाधिकारी टुङ्ग्याउनैपर्ने माग गरेका छन् । पूर्वस्थायी समिति सदस्य लीलामणि पाेखरेलकाअनुसार बहुमत सदस्यहरूले चालू केन्द्रीय समितिकाे बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्यानैपर्ने धारणा राखेका हुन् । उनीहरूले ८औं राष्ट्रिय महाधिवेशन सकिएकाे ६ महिना भइसक्दा पनि केन्द्रीय पदाधिकारी टुङ्ग्याउन नसकेकाे भन्दै चालू बैठकले भने जसरी भएपनि टुङ्ग्याउनैपर्ने धारणा राखेका थिए । बहुमत केन्द्रीय सदस्यहरूलाई उद्धृत गर्दै पाेखरेलले भने, ‘पदाधिकारी टुङ्ग्याउन ढिलाे भइसकेकाे छ । अझै ढिला नगराैँ, झनै भद्रगाेल हुन्छ ।’
कतिपय सदस्यहरूले सहमतिबाट नटुङ्गिए आन्तरिक निर्वाचनमार्फत् भएपनि पदाधिकारी टुङ्ग्याउनैपर्ने बताएका थिए । त्यसमा प्रचण्डले भने निर्वाचनमा जान नहुने बताएका थिए । बैठकमा सहभागी एक सदस्यले मकालुखबरसँग भने, ‘उहाँले निर्वाचनमा चाहिँ जानुहुँदैन भनेर शर्त राख्नुभयाे । हामीलेचाहिँ जसरी भएपनि टुङ्ग्याउनैपर्छ भन्ने अर्थमा आन्तरिक निर्वाचनमार्फत् नै भएपनि टुङ्ग्याउँ भनेका थियाैँ ।’
प्रचण्डलाई उद्धृत गर्दै ती सदस्यले भने, ‘म प्रस्ताव राख्छु, त्यसलाई समर्थन गर्नुस् टुङ्ग्याउँ ।’
चालू बैठकबाट स्थायी, पोलिटब्यूराेलगायतका समितिहरू टुङ्गिनुपर्ने एजेन्डा छ । बैठकले समिति टुङ्ग्याउने जिम्मा प्रचण्डलाई दिएकाे छ । प्रचण्डले समितिमा पर्ने नेताहरूकाे नाम प्रस्ताव गर्नेछन् ।








