केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट शुरु हुने बैठकमा आइतबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।
आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरूले बताएका छन् । यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरूले दबाब दिइरहेका छन् । सोमबारको बैठकमा ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरूले स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठेको बताएका थिए ।
बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरूले जोड दिएका छन् । तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरूको जोड छ ।








