झलनाथ भन्छन्- अवरोधका कारण संसद्मा जनताका समस्या मुखरित भएनन्

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा [एकीकृत समाजवादी]का सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन हुँदा देशमा गैरदलीय प्रवृत्ति बढ्दै गएकाे बताएका छन् । बिहीबार ६४ औंँ संसद् दिवसका अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले संसद् राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढेकाे बताए । ‘कहिलेकाहीँ हाम्रा नेताहरूलाई सनक चल्छ र संसद् विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?,’ उनले भनेका छन् ।
खनालकाे बाेली तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे संसद् विघटनलक्षित थियाे । उनले अवरोधका कारण पुन:थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानून नबनाएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘संसद्लाई बहसकाे थलाे बनाउनुपर्नेमा त्यसाे हुन सकिरहेकाे छैन । याे दुखद् हाे,’ उनले भनेका छन् ।








