शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते गर्नुभएन : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते नगरेको बताएका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम बोल्दै अध्यक्ष नेपालले कुशल संगठक कुँवरले बरु पदभन्दा पनि संगठन निर्माणमा सदैव चासो व्यक्त गर्दै आएका बताएका हुन् ।
अध्यक्ष नेपालले सदैव पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान लागेका कारण अछाममा कम्युनिस्ट पार्टीले २०६४ सालदेखि सफलता प्राप्त गर्दै आएको धारणा व्यक्त गरे । ‘पार्टीको संगठन निर्माण जुन काम नवनियुक्त श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री कुँवरले गर्नुभयो,’ नेपालले भने, ‘अरू यति सम्म कसैले गर्न सकेन ।’
आठ महिनाअघि पनि मन्त्री कुँवरले पार्टी हितभन्दा आफ्नो पद गौण भन्दै अरूको लागि त्याग गर्ने साहस गरेकोमा प्रशंसा व्यक्त गरे । पार्टीका नेताहरूले आत्मकेन्द्रित अवसरवादी सो एवं गलत चिन्तन तथा प्रकृति त्याग्दै जीवन्त पार्टी निर्माणको लागि मन्त्री कुँवरबाट धेरै कुरा सिक्नु पर्नेमा अध्यक्ष नेपालको जोड थियो ।
पार्टीमा वैचारिक र सैद्धान्तिक कामप्रतिको पूर्वाग्रह, उदासीनता, अनुशासनहीनता र क्रान्तिकारी आचरण, पद्धति र शैलीमा गम्भीर समस्याहरू देखा पर्न थालेको भन्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताको ध्यानाकर्षण गराए । उनले समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीलाई जनताको चाहना अनुसार काम गर्नको लागि निर्देशन समेत दिए ।
बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल, केन्द्रीय सचिव सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज गरिमा शाह, पोलिटब्युरो सदस्य भानुभक्त जोशी, गणेश विक, नवनियुक्त श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाश रावल लगायतको सहभागिता रहेको थियो ।








