यसरी भित्र्याइयाे कोतगढीमा सुन्दरी तोप (तस्बिरहरू)

सुर्खेत । बिहीवार ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको नारायण नगरपालिका १ कोतगढीमा पुनः राखिएको छ । विसं २०२८ अघिसम्म कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगेसँगै पुनः गढीमा राखिएको हो ।

दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईंकाअनुसार सुन्दरी तोप ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेसँगै दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । यस्तै, गढीमा राखिएको तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने छ । विसं २०२८ मा कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्‍याइएकाे थियो ।

सङ्घीयतापछि राजनीतिक दल, स्थानीय सरकार र नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदा ल्याउनुपर्ने माग राख्दै आएका थिए । स्थानीय प्रशासन र कालीदत्त गुल्मको पहलमा तोप दैलेख लगिएको थियो ।

के हो सुन्दरी तोप ?

सुन्दरी तोप विसं १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ । बुधबार दैलेखमा सारिएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ । सुन्दरी तोपको धार्मिक महत्त्वसमेत रहेको जानकारहरू बताउँछन् ।

विजया दशमी तथा तिहारको समयमा टिकाको साइत तोप पड्काएर जनाइने र नागरिकहरूले तोपको साइतअनुसार दशैँको टिका लगाउने कार्य अघि बढाउने पुरानो धार्मीम महत्त्व रहेको बुझिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *