आज १८ औं लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। राजनीतिक दलको माग बमोजिम ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए ।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो । नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

यो जनआन्दोलनको जगमा तत्कालीन नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भएको थियो । यही आन्दोलनपछि संविधानसभा चुनाव भयो र संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ । तीन तहको सरकार बनेका छन् । गाउँगाउँमा अधिकार पुगेका छन् । तर जनताले भने त्यस अनुरुपको विकास हुन नसकेको भन्दै निराशा व्यक्त गरिरहेका छन् । देशमा भएको परिवर्तन सहीरुपमा संस्थागत हुन नसकेको र राजनीतिक दलले पुरानै चरित्र प्रदर्शन गरेको भन्दै जनतामा निराशा भने व्याप्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *