घुम्न राम्रो कन्याम (तस्बिरहरु)

कन्याम । झापाको विर्तामोडबाट ४७.२ किलोमिटर माथि चढेपछि पुगिन्छ, कन्याम । गाडी यात्रामा करिब १ घन्टा ३० मिनेट लाग्छ । झापाको विर्तामोडबाट कन्यामको प्रवेशद्धार पुग्दा चिसो एसीभित्र छिरेको अनुभव हुन्छ ।

इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । यस्तो लाग्छ, कन्याम कुनै राम्रो चित्रकारले कोरेको सबैभन्दा उत्कृष्ट चित्र हो । तराईबाट उकालो चढ्नेहरुको लागि प्राकृतिक एसी हो, कन्याम । आँखाले नभ्याउने चिया बगानको श्रृखला, आँखै अगाडी बिभिन्न हिमश्रृखला यहाँको बिशेषता हो ।

यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका विभिन्न जिल्लाबाट यहाँ पयर्टकहरु आउछन् । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो ।

झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । झापाका फाँटहरु पनि देखिन्छ ।

कन्यामको अर्को विशेषता हो, घोडा । यहाँ आउने पर्यटकहरु घोडा चढेर एकपटक चिया बगान नघुमी फर्किन्दैनन् । घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । शनिबार पर्यटकको चापका कारण मेची राजमार्गअन्तर्गतको कन्याम-हर्कटे सडकखण्ड अवरूद्धसमेत हुने गरेको छ । यही कारण अहिले घोडाको लागि नयाँ रुट समेत बनाइएको छ ।

कन्यामको लभडाँडामा पर्यटकहरु जहिल्यै भीड लाग्ने गरेका छन् । कन्यामको बीच भागतिर पर्ने लभडाँडा सडकभन्दा करिब दुई सय मिटर उचाइमा पर्छ । प्रेमीप्रेमिका र नवजोडीको लागि यो प्रिय घुम्ने थलो हो । दैनिक रुपमा सैयौं जोडीहरु यहाँ घुम्नका लागि आउने गरेको स्थानीयहरु बताउँछन् । प्रेमी प्रेमीकाहरुले सेल्फी खिचिरहेका दृश्यहरु हेरीरहुँ लाग्छ । प्राकृतिक रुपले कन्याम आफैमा सुन्दर छ ।

कन्याममा नेपाल चिया विकास निगम अन्तर्गतका बगानहरुमध्ये कन्याममा चार हजार तीनसय रोपनी क्षेत्रफल जग्गामा चिया लगाइएको छ । तर, सरकारले सरकारले त्रिवेणी समूहलाई नेपाल चिया विकास निगम अन्तर्गतका चिया बगानहरुको व्यवस्थापन ५० वर्षलाई जिम्मा दियो । अर्थात् नीजि क्षेत्रलाई कमाइ खान दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *