‘समाजवादी केन्द्र’ निर्माणको बहस पुनः सतहमा, कति सम्भव ?

काठमाडौँ । वैचारिक पाटो राजनीतिक बाटो मिल्ने राजनीतिक दलहरूको सहभागितामा ‘समाजवादी केन्द्र’ बन्ने/बनाउने कुरा नयाँ होइन । यसको केही प्रयास २०७४ सालमा पनि भएको थियो । तर, केन्द्रले स्वरुप ग्रहण गर्न भने सकेन । त्यत्तिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको माओवादी केन्द्र, डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमसहितलाई सङ्गठित गरेर समाजवादी केन्द्र बनाउने कुरा थियो । तर, विभिन्न कारणले गर्दा त्याे प्रयास ‘फेल’ भयो र सकियाे ।

समाजवादी केन्द्र पुनः एकपटक सतहमा आएको छ । ‘वामपन्थ’ प्रति विश्वास राख्ने र वैज्ञानिक समाजवाद भन्ने दल तथा नेताहरूलाई समेटेर बनाउने भनिएको समाजवादी केन्द्रबारे राजनीतिक दलहरूमा छलफल शुरू भएको स्रोतहरूले खुलाएका छन् । माओवादी केन्द्रका एक नेताले मकालुबरसँग भने, ‘माओवादी सधैँ मिल्नुपर्छ भन्छ । मिल्ने कुराको विरोध गर्दैन । तर त्यो जनताको पक्षमा हुनुपर्छ । अब समाजवादी केन्द्रको कुरा जहाँसम्म छ, त्यसको पनि विपक्षमा छैनौँ । छलफल पनि शुरू भएको छ । यो राम्रो हो ।’ त्यसको तयारी तथा छलफल आन्तरिकरूपमा भइरहेको उनले दाबीसमेत गरेका छन् । उनले भने, ‘त्यसबारे यसो कहिलेकाहीँ नेताहरूसँग अनाैपचारिकरूपमा कुराकानी पनि हुन्छ । नेताहरूले यसबारे कुरा गरेकाे सुनेकाे छु ।’

यसअघि आइतबार मात्रै प्रचण्डले पूर्वमाओवादी ध्रुवीकरणकाे वातावरण बनेकाे बताएका थिए । उनको भनाइ थियो— ‘पूर्वमाओवादी ध्रुवीकरणको वातावरण बनेको छ । विभाजनको शृङ्खलालाई थाँती राखेर एकतातिर आइसक्यौँ ।’ त्यसो त यही मेसोमा जसपालाई पनि समेट्ने माओवादी नेताहरू बताउँछन् । जसपा संघीय परिषद् अध्यक्ष पूर्वमाओवादी रहेकाेले पनि यो असम्भव नरहेको उनीहरूकाे भनाइ छ । स्रोतले भनेको छ, ‘यसमा जसपासमेतलाई समेट्ने हो । त्यहाँ पनि पूर्वमाओवादी नेताहरू नै हुनुहुन्छ ।’

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच आन्तरिक द्वन्द्व भने छ । त्यसकारण यादव पक्ष नमिसिए पनि भट्टराई पक्ष भने समाजवादी केन्द्रमा आउनेमा नेताहरू ढुक्क छन् । यही ‘सेन्टिमेन्ट क्याच’ गरेर समाजवादी केन्द्रको बहस झिकिएको बताइन्छ ।

प्रचण्ड पनि यसमा राजी हुन बाध्य छन् । यसबीचमा विशुद्ध पूर्वमाओवादी ध्रुवीकरण भन्दै हिँडेका उनलाई पूर्वसहयोद्धाहरूले पत्याएनन् । प्रचण्डले ‘शान्तिपूर्ण बाटोबाट समाजवाद खोजेको’ भन्दै उनलाई पूर्वसहयोद्धाहरूले साथ दिएनन् । ध्रुवीकरणका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी (माओवादी) लगायतका दलहरूसँग अनौपचारिक वार्तासमेत भएको थियो । जनवादी क्रान्ति फलाक्दै हिँड्ने पूर्वमाओवादीहरूले नपत्याएपछि प्रचण्डले अब समाजवादी केन्द्रमा रुची देखाएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

यसबीचमा प्रचण्डले जसपा संघीय परिषद् अध्यक्ष भट्टराईलाई २ पटक भेटे । भेटमा यही समाजवादी केन्द्रबारे छलफल भएको स्रोतहरूकाे दाबी छ । उसो त समाजवादी केन्द्रको प्रस्तावक उनै भट्टराई हुन् भन्दा फरक पर्दैन । उनले कम्युनिष्टभन्दा समाजवादी भन्दा समयसापेक्ष हुने र सबैलाई समेट्न सकिने बताउँदै पनि आएका छन् ।

अतः भट्टराईको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग राम्रो सम्बन्ध छैन । सम्भवतः कानूनले दिएको भए उनले पार्टी फुटाइसकेका हुन्थे । ५ दलीय गठबन्धनको सरकार बन्दाखेरी दलबाट मन्त्री पठाउनेबारे कुरा नमिल्दादेखि चिसिएको भट्टराई-यादव सम्बन्ध अझै तिक्तताकै तहमा छ । यस्तो अवस्थामा भट्टराईले भनेको समाजवादी केन्द्रले जसपा वृत्तमै पनि विशेष अर्थ राख्ने बताइन्छ ।

के भन्छन् दलहरू ?

समाजवादी केन्द्रबारे दलहरूमा केही नेताहरूले कुरा उठाएपनि पार्टी कमिटीको बैठकहरूमा एजेन्डा भने बनेको छैन । तर, दलहरू यसप्रति नकारात्मक भने छैनन् । माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ समाजवादी केन्द्र बने राम्रै हुने बताउँछन् । त्यसका लागि माओवादी केन्द्र सधैँ तयार रहेको प्रतिक्रिया उनको छ । ‘माओवादी कहिल्यै पनि एकताको विपक्षमा छैन,’ उनले भने, ‘अन्य दलहरू तयार भएको खण्डमा माओवादी सधैँ तयार छ ।’

समाजवादी केन्द्र कार्यनीतिक मात्रै नभइ रणनीतिक मोर्चाकोरूपमा हुनुपर्ने बताउँछन् उनी । ‘कार्यनीतिक मोर्चा त कांग्रेससँग पनि बनिरहेकै छ । तर समाजवादी केन्द्र बन्ने भयो भनेचाहिँ रणनीतिक मोर्चा बन्नुपर्छ ।’ केन्द्रमा ‘वैज्ञानिक समाजवाद’ भन्ने/मान्ने सबै दलहरू समावेश गर्न सकिने उनको भनाइ छ । ‘त्यहाँ कांग्रेस र एमालेबाहेक अन्य दलहरू पर्न सक्छन् । कांग्रेसले आफूलाई वैज्ञानिक समाजाद मान्ने भन्दैन । एमालेसँग त अन्य वैचारिकरूपमै विभेद छ । त्यसो हुनाले वैज्ञानिक समाजवाद मान्ने अन्य दलहरू समावेश हुनसक्छन् र त्यसो भयो भने पनि राम्रै हुन्छ ।’

एकीकृत समाजवादीका नेता मेटमणि चौधरी आफ्नो दल समाजवादी केन्द्रसँग नकारात्मक नरहेको बताउँछन् । ‘त्यसबारेको कुरा फेरि आएको छ, तर यसबारे पर्याप्त छलफल भएको छैन,’ उनले भने, ‘यो सिर्फ कुरामात्रै हो । तर हाम्रो पार्टी विपक्षमा भने छैन । सायद अवस्थाले माग्यो भने छलफल होला ।’ त्यसो त एकीकृत समाजवादी आयोगमा दर्ता भइरहँदा नेताहरूले ‘बृहत् वामएकता’को रटान लगाएका थिए । २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीले भनेजस्तो वामएकताका लागि काम गर्न नपाएपनि विचार र सिद्धान्त मिल्नेसँग मिल्नुबाट नभाग्ने भनाइ चौधरीको छ । ‘हामीले शुरूमा भनेझैँ वाम एकताको शङ्खघोष गर्न पाएनौँ वा सकेनौँ । तर मिल्ने कुरामाचाहिँ नाइँ भन्दैनौँ ।’

आवश्यक परे त्यसका लागि पार्टीभित्र छलफल गर्ने र निष्कर्षमा पुग्ने उनको भनाइ छ । ‘मिल्ने कुरामा हामी मिल्न सक्छौँ । यसबीचमा पनि हामी धेरै दलहरूसँग मिल्यौँ,’ उनले भनेका छन् ।

जसपा नेता रामसहाय प्रसाद यादव पार्टीभित्र समाजवादी केन्द्रबारे छलफल नभएको बताउँछन् । ‘पार्टीभित्र छलफल भएको छैन यो विषयमा,’ उनले भने, ‘सायद छलफल पनि हुँदैन होला । उसो त यसको पस्तावक संघीय परिषद् अध्यक्ष भट्टराई नै हुन् । तपाईंकै नेताको प्रस्ताव हो नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘त्यसबारे पार्टीमा छलफल भएको छैन । मलाई जानकारी भएसम्म कुनै पनि पार्टी कमिटीमा छलफल भएको छैन ।’

प्रस्ताव आयाे भनेचाहिँ पार्टीभित्र छलफल गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘परिस्थितिले के माग्छ हेरौँ । अहिले त छलफल हुन्छजस्तो लागेको छैन । प्रस्ताव नै आएपनि नेतृत्वले भनेबमाेजिम गराैँला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *