प्रचण्डकाे दाबी- ‘पूर्वमाओवादीहरू एकठाउँमा आउँदैछन्’

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बनिरहेकाे दाबी गरेका छन् । ‘पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बन्दै आएकाे छ,’ आइतबार नेपाल राष्ट्रिय कर्मचारी महासंघकाे केन्द्रीय समितिकाे बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले भनेका छन्, ‘त्याे अवस्था बन्दै नै छ ।’ माओवादी आन्दाेलन विभाजनकाे शृङ्खला हुँदै पुन: एकताकाे शृङ्खलामा जाेडिएकाे प्रचण्डकाे दाबी छ, भनेका छन्— ‘माओवादी आन्दाेलनमा पनि विभाजनका शृङ्खला देखियाे । तर, अब पुन: एकताकाे शृङ्खला बन्दैछ । यसका लागि हामीले काेसिस नै गरिरहेका छाैँ । तर अब पूर्वमाओवादीहरू एकठाउँमा आउने वातावरण बन्दै नै छ ।’
उनले प्राप्त परिवर्तन उल्ट्याने काेसिस भइरहेकाे आराेप लगाए । ‘अझ सङ्घीयतालाई उल्ट्याउने खाेज्ने प्रवृत्ति आज पनि सक्रिय नै छ,’ उनले भनेका छन्, ‘यसविरुद्ध हामी हिजाेजस्तै कर्मचारी, राजनीतिक दल, आमजनता मिलेर लड्नुपर्छ ।’
प्रचण्डले पूर्वमाओवादीहरूकाे ध्रुवीकरणकाे आवाज उठाउँदै आएका छन् ।








