हिजो राजाको इतिहास मेटायौ, आज तिमीहरूको मेटियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै इतिहास मेटाउने प्रवृत्तिको आलोचना गरेका छन् ।
शाहीले लेखेका छन्, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ । यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन । हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए ।’
उनले राजाका पालामा बनेका संरचना र राजमार्गहरूको नाम परिवर्तन गरिएको प्रसंग उल्लेख गर्दै इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास पहिले नै भएको दाबी गरेका छन् ।
आफ्नो धारणा स्पष्ट पार्न शाहीले एक पुरानो कथा पनि स्मरण गरेका छन् । वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाने छोराको कथा उल्लेख गर्दै उनले इतिहास मेटाउने प्रवृत्तिको परिणाम अन्ततः आफ्नै पक्षमा पनि फर्किने सन्देश दिएका छन् ।
‘इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ– आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ,’ उनले लेखेका छन् ।








