प्रधानमन्त्रीबारे बोले अर्थमन्त्रीः भने– समन्वयमा कुनै समस्या छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरेका छन् ।
केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित छन् । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिएका हुन् ।
उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताए । उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहोर्याए ।
उनले भने, ‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भाछ अर्थमन्त्री देखिएन भन्ने छ । यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ ।’
उनले अगाडि भने, ‘व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेट पछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुटहरू फैलाइन्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’
अर्थमन्त्री वाग्लेले मुलुकका आर्थिक मुद्दाहरुमा प्रधानमन्त्री साहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरुको पछाडि नलाग्न आग्रह गरे ।








