तनुजा पाण्डेले गृहमन्त्रीलाई सोधिन्– ‘कसको आदेशमा गोली चल्यो ?’

काठमाडौं । जेनजी अभियन्ता तनुजा पाण्डेले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठाएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले घटनाको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने भन्दै गृह मन्त्रालयसँग स्पष्ट जवाफ माग गरेकी हुन् ।
पाण्डेले लेखेकी छन्, ‘गृहमन्त्री सुधन गुरुङज्यू, हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गयो र दर्जनौँ घाइते भए । यसको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने ?’
उनले भदौ २३ मा संसद् भवनअगाडि भएको गोलीकाण्ड र सुनसरीको पछिल्लो घटनालाई राज्यसत्ताको ‘दमनकारी मानसिकता’ को निरन्तरता भएको दाबी गरेकी छन् ।
‘नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको गृह प्रशासनको नेतृत्वमा तपाईं हुनुहुन्छ । तर, स्थिति नियन्त्रणमा लिन अन्य उपाय हुँदाहुँदै सीधै गोली चलाउनुपर्ने अवस्था आउनुले गृह प्रशासनको कमाण्ड एण्ड कन्ट्रोल पूर्ण रूपमा असफल भएको देखाउँछ,’ उनले लेखेकी छन् ।
पाण्डेले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुको सट्टा आफ्नै सरकारसँग डराउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै घटनाको वस्तुगत छानबिन गर्न माग गरेकी छन् ।
उनले कुन परिस्थितिमा र कसको आदेशमा घातक बल प्रयोग गरिएको हो भन्ने विषयमा गृह मन्त्रालयले तत्काल तथ्यपरक र स्पष्ट जवाफ दिनुपर्ने उल्लेख गरेकी छन् ।
‘सुरक्षा निकायलाई न्यूनतम बल प्रयोगको सिद्धान्तमा अभ्यस्त गराउनुको सट्टा नागरिकमाथि गोली बर्साउने अवस्था आउनु गृह मन्त्रालयको गम्भीर नेतृत्वगत असफलता हो,’ उनले लेखेकी छन् ।
पाण्डेले भदौ २३ को घटनाबाट पाठ नसिकिएको दाबी गर्दै राज्यले नागरिकमाथि बल प्रयोग गर्ने शैली परिवर्तन गर्नुपर्ने र सुरक्षा निकायलाई संयमित बनाउन सरकार जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरेकी छन् ।








