चितवनमा बाघको आक्रमण : २५ दिनमा चार जनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट यही जेठ महिनाको २५ दिनमा चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनभित्र निउरो टिप्न र घाँसदाउरा जानेहरु नै बाघको आक्रमणमा परेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
जेठ २४ गते मंगलबार भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनभित्र निउरो टिप्न गएका चार जनाको महिलाको समूहमाथि नै बाघले आक्रमण गरेको थियो । तीन जना बाघको पञ्जाबाट फुत्किन भ्याए पनि घैलाघारीकी ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो।
जेठ १७ गते भरतपुर– ११ मा रहेको नवजागृति सामुदायिक वनमा निउरो टिप्न गएका ५१ वर्षका चाथर कुमालको पनि बाघको आक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, जेठ १६ गते राप्ती १ मा निकुञ्जभित्र गाई चराउन गएकी ५३ वर्षीया सेतीमाया तामाङको पनि बाघको आक्रमणबाट मृत्यु भयो । अपरान्ह ४ बजे गाई लिएर घर फर्कनेक्रममा बाघको आक्रमणमा परेर घटनास्थलमै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
जेठ ८ गते भरतपुर १३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा निउरो खोज्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेको पनि बाघको आक्रमणबाट मृत्यु भयो।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा झन्डै दोब्बरले बढेको छ ।








