थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते

एजेन्सी । थाइल्याण्डको दक्षिणी प्रान्त नराथिवाटमा बुधवार साँझ एक सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी पाँच जना सैनिकको मृत्यु भएको छ । अज्ञात समूहले गरेको उक्त आक्रमणमा अन्य ६ जना सर्वसाधारण घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार नराथिवाट प्रान्तको रा–नगाए जिल्लामा अवस्थित चेकपोइन्टमा स्थानीय समयअनुसार साँझ करिब ६ः४५ बजे सो घटना भएको हो । एउटा पिकअप ट्रकमा आएका ६ जनाको समूहले चेकपोइन्टको प्रवेशद्वारमा अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै पाइप बम प्रयोग गरी आक्रमण गरेका थिए ।
आक्रमणपश्चात् उनीहरू सोही सवारी साधनमा फरार भएका थिए । घटनालगत्तै सुरक्षा निकायले आक्रमणकारीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ । प्रशासनले उक्त क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पार्दै सबै चेकपोइन्टहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
यसैबीच, थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले सम्बन्धित निकायहरूलाई पूर्ण जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । उनले दक्षिणी सीमावर्ती प्रान्तहरूमा शान्ति स्थापनाका लागि भइरहेको वार्ता प्रक्रियालाई निरन्तरता दिइनेसमेत स्पष्ट पारेका छन् ।








