सत्ता साझेदार दलहरूमा मन्त्री हेरफेर गर्नुपर्ने ‘दबाब’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने भएपछि अन्य सत्ता साझेदार दलहरूमा पनि मन्त्री हेरफेरकाे विषयले प्रवेश पाएकाे छ । एकीकृत समाजवादीले आफूले पाएकाे ४ मन्त्रालयसँगै १ राज्यमन्त्रीमा क-कसलाई पठाउने भन्नेबारे टुङ्गाे लगाइसकेकाे छ । उसले गत २३ गते नै यसअघि बनेका मन्त्रीहरूलाई फिर्ता बाेलाउँदै नयाँ मन्त्रीहरू पठाएकाे थियाे । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशन सकिएपछि मात्रै मन्त्री हेरफेर गर्ने बताएपछि नयाँ मन्त्रीहरूकाे शपथ ग्रहण राेकिएकाे छ । तर, भाेलिसम्म नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसक्ने शहरी विकासमन्त्रीमा सिफारिस भएका एकीकृत समाजवादीका नेता मेटमणि चाैधरी बताउँछन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल काठमाडाैँमा बुधबार आयाेजित एक कार्यक्रममा ‘हाम्राे पार्टीले मन्त्री फेर्ने निर्णय गर्याे, अरु पार्टीमा पहिराे गयाे’ भनेर भने । हुन पनि अहिले त्यस्तै भएकाे छ । खासगरी सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) भित्र मन्त्री फेर्नुपर्ने आवाज उठ्न थालेकाे छ । नेता वर्षमान पुनकाअनुसार माओवादी केन्द्रभित्र पनि नेतृत्वलाई मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढेकाे छ । ‘एकीकृत समाजवादीले मन्त्री फेर्ने भएपछि हाम्राे पार्टीमा पनि हेरफेर हुनुपर्ने आवाज उठेकाे छ,’ उनले भने, ‘यसबारे छलफल भने भएकाे छैन । छलफल हुन्छ हाेला ।’
तर, गठबन्धनकाे सरकार भएकाेले यत्तिकै मन्त्री हेरफेर गर्नु उचित नहुने भनाइ पुनकाे छ, भन्छन्— ‘हाम्राे गठबन्धनकाे सरकार हाे । हाम्राे संयन्त्र छ । आचारसंहिताहरू छन् । त्यसकाे आधारमा मात्रै हाम्राे मन्त्रीहरू फेरिनुपर्दछ भन्ने हाे । अझ सबै दलकाे सहमतिमा त्याे भयाे भने राम्राे हाे भन्ने लागेकाे हाे । यत्तिकै फेर्नु उत्ति उचित हुँदैन । त्याे भएर हामी पार्टीभित्र पनि छलफल गर्छाैँ र गठबन्धनमा छलफल गर्छाैँ अनि मात्रै निष्कर्षमा पुग्छाैँ । अहिल्यै यही हुन्छ भनेर बाेल्दिनँ ।’
संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ पनि माओवादी केन्द्र यसबारे अहिल्यै निष्कर्ष पुगिनसकेकाे बताउँछन् । माओवादी केन्द्रले पनि मन्त्री हेरफेर गर्दैछ ? भन्ने मकालुखबरकाे जिज्ञासामा उनले भनेका छन्, ‘स्वाभाविकरूपमा मन्त्रीका आकांक्षीहरू हुन्छन् पार्टीभित्र । त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ । तर हामीले अहिल्यै के गर्ने, मन्त्रीहरू फेर्ने कि नफेर्ने भन्नेबारे निर्णय लिइसकेका छैनाैँ । यसबारे छलफलबाट टुङ्ग्याउँछाैँ । गठबन्धनमा पनि छलफल गर्छाैँ ।’
जसपाभित्र पनि मन्त्री हेरफेर विषय उसैगरी उठिरहेकाे छ । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा ६ महिनाका लागि मात्रै मन्त्रीहरूलाई पठाइएकाे नेता रामबाबु कुमार यादव बताउँछन् । ‘यसअघि पार्टीले ६ महिनाका लागि मन्त्री बनाएकाे हाे । अध्यक्षज्यूले पनि ६ महिनाका लागि भन्नुभएकाे थियाे । हामीले केही भनेका छैनाैँ कि अध्यक्षजीले भनेकाे कुराचाहिँ पुग्नुपर्छ भनेर मात्रै भनेका हाैँ । त्याे पुर्याउने कि नपुर्याउने भन्ने कुरा अध्यक्षजीले नै जान्नुहाेला,’ नेता यादवले भनेका छन् ।
यादवसहितका आधा दर्जन नेताहरूले यसअघि छुट्टै भेलासमेत गरेका थिए । संघीय राजधानीकाे एक रेष्टुराँमा बसेकाे उक्त भेलाले मन्त्री हेरफेर हुनुपर्ने निष्कर्ष निकालेकाे थियाे । त्यसबारे साेधिएकाे प्रश्नमा उनले भनेका छन्, ‘म यत्ति भन्छु मन्त्री हेरफेर हुनुपर्छ । अध्यक्षजीले बाेलेकाे त पुर्याउनु पर्याे नि । अनि पाे नेतालाई अन्य नेता/कार्यकर्ताहरूले पनि पत्याउँछन् र भराेसायाेग्य हुन्छन् । बाेलेकै पुर्याइएन भने त कहाँ भयाे र ?’
उनले आफू पनि मन्त्रीकाे आकांक्षी रहेकाे स्वीकारे । ‘म पनि सांसद छु, राजनीति गर्नेहरूले मन्त्रीकाे अपेक्षा गर्नु भनेकाे अपराध त हाेइन नि,’ उनले भनेका छन् ।
०००
सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र पनि मन्त्रीका आकांक्षीहरूले ‘गठबन्धनका अन्य दलमा हेरफेर गर्दा कांग्रेस किन चुप?’ भनेर प्रश्न उठाउन थालेका छन् । तर, कांग्रेसमा भने मन्त्री हेरफेरकाे सम्भावना कम भएकाे नेता मीनबहादुर विश्वकर्मा बताउँछन् । ‘केही साथीहरूले अन्य दलले फेर्दा किन नफेर्ने भनेकाे पनि सुन्छु,’ उनले भनेका छन्, ‘तर मुख्य नेतृत्वमा त्याे पक्षमा देखिनुहुन्न । त्याे भएर कांग्रेसले मन्त्री फेर्छ जस्ताे लाग्दैन । तर पनि त्याे विषयमा गठबन्धनकाे बैठकले पनि छलफल गर्ला नि ।’
त्यसाे त कांग्रेसले नै पाएकाे रक्षा मन्त्रालय भने अहिले रिक्त छ । यसअघि उक्त मन्त्रालयमा कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजाल थिए । उनले १४औं महाधिवेशनमा पार्टीकाे महामन्त्रीमा पराजित भएपछि ‘नैतिकताका आधारमा’ भन्दै राजीनामा दिएका छन् । यसपछि उक्त मन्त्रालय अहिलेसम्म रिक्तै छ । कांग्रेसले रक्षा मन्त्रालयमा कसैलाई पठाएकाे छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले नै हेरिहेका छन् । तर, रक्षामन्त्रीकाे शपथ ग्रहण भने एकीकृत समाजवादीकै नयाँ मन्त्रीहरूसँग हुने प्रबल सम्भावना रहेकाे कांग्रेसका एक नेताले बताए । ‘रक्षामन्त्रीले पनि यही लटमा शपथ ग्रहण गर्ने भन्ने कुराचाहिँ छ,’ ती नेताले भनेका छन् ।








