अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक: मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् ।

शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन् ।

प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गरे । आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महसुस गर्ने उनको तर्क छ ।

श्रेष्ठले भने ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ । बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ । यो साँच्चै कठिन जिम्मेवारी हो । प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महसुस गर्छौँ । विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ । मलाई सम्झना छ, धेरै वर्षअघि लखनउ जाँदा रिक्सा चालकदेखि पसलसम्म धेरै ठाउँमा ठगिएको अनुभव भएको थियो । त्यसले आफ्नै देशमा प्रहरीको उपस्थितिको महत्त्व अझ महत्त्वपूर्ण छ, भन्ने संस्कार विकास गर्न आवश्यक छ ।’

वि.सं. २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उनले पराई मुलुकमा सुरक्षाको प्रत्याभूति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गरे । सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औँल्याए ।

‘विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्रायः आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो ट्राफिक संस्कार बिस्तारै सिकाउँदै लैजानुपर्छ । सही लेनको प्रयोग, गतिअनुसार सवारी चलाउने नियम र ट्राफिक अनुशासनबारे पनि निरन्तर जनचेतना आवश्यक छ ।’ श्रेष्ठले भने ।

विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिए । प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उनको ठम्याइ छ ।

श्रेष्ठले भने ‘ट्राफिक व्यवस्थापनका सन्दर्भमा पहिले तिमी भन्ने संस्कार विकास गर्न आवश्यक छ । प्रहरीले प्रभावकारी रूपमा सम्झाउँदा धेरै नागरिकले नियम पालना गरेका उदाहरण छन्, जस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्ति घटेको छ । त्यसैले ट्राफिक सुधारका लागि प्रहरीसँगै नागरिकको सचेतना र सहकार्य पनि उत्तिकै आवश्यक छ ।’

यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =