विपद् व्यवस्थापन प्राधिकरणको कमान्ड धर्म उप्रेतीलाई, भने- ‘पूर्वतयारी र पुनर्निर्माणले गति लिन्छ’

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित कार्यालयमा कार्यभार सम्हाल्दै उनले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण लगायत मुलुकका विभिन्न क्षेत्रमा भएका विपद्जन्य क्षतिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पदभार ग्रहण लगत्तै कार्यकारी प्रमुख उप्रेतीले जाजरकोटका १ सय ८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुभारम्भ गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

यसअघिको नेतृत्वले गरेका सकारात्मक कार्यहरूको स्वामित्व लिँदै उनले अब पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकका लागि कार्यसम्पादनमा गति दिने बताए । कार्यकारी प्रमुख उप्रेतीले विपद् आइसकेपछि मात्र सक्रिय हुने पुरानो शैलीलाई परिवर्तन गर्दै आगामी दिनमा ‘विपद् हुनै नदिने’ गरी पूर्वतयारीमा लगानी बढाउने योजना अघि सारे ।

यसका लागि पूर्वसूचना प्रणालीको विस्तार, स्थानीय र प्रदेश सरकारको परिचालन तथा ७ सय ५३ वटै स्थानीय तहमा रहेका आपत्कालीन केन्द्रहरूको प्राविधिक र मानवीय क्षमता अभिवृद्धि गरिने उनले जानकारी दिए । नेपालको आन्तरिक स्रोतले मात्र विपद् व्यवस्थापनका चुनौतीहरू सामना गर्न कठिन हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समन्वय र ‘नेगोसिएसन’लाई तीव्र बनाउने बताए ।

साथै, जलवायु वित्तका सन्दर्भमा वन मन्त्रालय र गृह मन्त्रालयबीचको समन्वयलाई थप सुदृढ बनाउँदै प्राधिकरणलाई ‘हानी र नोक्सानी’को फोकल प्वाइन्टका रूपमा स्थापित गर्ने उनको योजना छ ।

खहरे खोलाको बाढी, हिमताल विस्फोट, शीतलहर, लु र हावाहुरीजस्ता बहुआयामिक जोखिमहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उप्रेतीले यसलाई न्यूनीकरण गर्न सबै मन्त्रालय र विभागको सामूहिक प्रयास आवश्यक रहेको बताए । विपद् प्राधिकरण एक्लैको प्रयासले मात्र लक्ष्य प्राप्ति सम्भव नहुने भन्दै उनले अन्तर–निकाय समन्वय र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।

जलवायु विज्ञ उप्रेती दुई दशकदेखि जलवायुजन्य विपद्को क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =