प्रदेश १ का १०० पालिकाको परिणाम सार्वजनिक, कुनले कति पालिका जिते?

विराटनगर । प्रदेश १ का धेरै जिल्लाको मतगणना सकिँदै गर्दा परिणम रोचक बन्दै गएको छ।

यसअघि एमालेले जितेका पालिकामा कांग्रेसले बाजी मारेको छ भने कांग्रेसले वर्षौंदेखि जित्दै आएका पालिकामा एमालेले तथा अन्य दलहरूले किल्ला गाडेका छन्। १३७ पालिकाहरूमध्ये सबैभन्दा धेरै पालिकाको प्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। नेपाली कांग्रेसले ५० पालिकाको प्रमुख जित्दा नेकपा एमालेले ३२ पालिका जितेको छ। नेकपा माओवादी केन्द्रले १२ पालिकाको प्रमुख प्राप्त गरेको छ। त्यस्तै, जनता समाजवादी पार्टीले दुई र नेकपा एकिकृत समाजवादी र राप्रपाले एक–एक पालिकामा विजयी भएका छन्।

प्रदेश १ मा दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो परिणाम अनुसार ३७ पालिकामा अहिले पनि मतगणना जारी रहेको र केही पालिकामा मत परिणाम घोषणा अन्तिम तयारी भइरहेको आयोगले जनाएको छ।

पछिल्लो तथ्यांक अनुसार ९ पालिका रहेको ताप्लेजुङमा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले २ पालिका जितेको छ। पाँचथरको ८ पालिकामा सबैभन्दा धेरै कांग्रेसले ६ , एमाले र माओवादी केन्द्रले एक-एक पालिका जिते। इलामका १० पालिका मध्ये ७ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस ४ र एमाले ३ पालिकामा विजयी भएको छ।

त्यस्तै, झापाका १५ पालिकामध्ये ४ वटा पालिकाको मात्र परिणाम सार्वजनिक भएको छ। एमाले २, कांग्रेस र राप्रपाले एक–एक पालिकामा विजयी हुँदा अरू ११ पालिकामा यो समाचार तयार पार्दासम्म भने परिणाम आउन बाँकी रहेको छ। मोरङका १७ पालिकामध्ये एमाले ४ र कांग्रेस ३ पालिकामा विजयी हुँदा अरू १० पालिकाको परिणाम सार्वजनिक भएको छैन भने सुनसरीका १२ पालिकामध्ये कांग्रेस र जसपाले एक–एक पालिका जित्दा अरू पालिकामा मत गणना जारी छ।

उता संखुवासभाका १० पालिकामध्ये एमाले ४ र कांग्रेसले ६ पालिका जितेको छ। तेह्रथुमका ६ पालिकामध्ये ३ मा एमाले र ३ मा कांग्रेसले पकड लिएका छन्। भोजपुरका ९ पालिकामध्ये एमालेले ३, कांग्रेसले ३ , माओवादी केन्द्रले २ र एक पालिका स्वतन्त्रले जितेका छन्। यसअघि जितेका ७ वटै पालिकामध्ये योपटक एमालेले मात्र ३ पालिकामा चित बुझाउँदा कांग्रेसले ४ पालिका आफ्नो कब्जामा लिएको हो।

सोलुखुम्बुका ८ पालिकामध्ये कांग्रेसले ५, एमालेले २ र माओवादी केन्द्रले एक पालिकामा विजयी हुँदा खोटाङको १० पालिका मध्ये कांग्रेसले ५, एमालेले २, माओवादीले २ पालिका विजयी हुँदा एउटा पालिकाको अझै परिणाम आएको छैन। ओखलढुङ्गाका ८ पालिकामध्ये ४ कांग्रेसले जित्दा अरू दलहरूले एक-एक पालिकामा चित बुझाउनु परेको छ। एमाले, माओवादी कन्द्र र जसपाले एक-एक पालिकामा विजयी हुँदा एक पालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

साथै, उदयपुरका ८ वटा पालिकामध्ये ३ पालिकाको परिणाम आउन बाँकी रहँदा माओवादीले ३ , नेपाली कांग्रेस र एकिकृत समाजवादीले एक-एक पालिका जितेका छन्।

एक मात्र महानगरमा कांग्रेस अघि

प्रदेश १ को एक मात्र महानगरपालिका (विराटनगर महानगरपालिका)मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता निरन्तर कायम छ। पछिल्लो मतपरिणाम अनुसार १५९३९ मतका साथ कोइराला अगाडि हुँदा नेकपा एमालेका सागर कुमार थापाले ११६४१ मतका साथ उनलाई पछ्याइरहेका छन्।

उपप्रमुखमा भने गठबन्धन निकै पछि परेको छ। एमालेकी शिल्पा निराला कार्कीले १३४४५ मत पाउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८१७८ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *