कोशीमा कांग्रेसको रणनीतिक बैठक, मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौं । नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा आफ्नो भूमिकाबारे निर्णय गर्न प्रदेशस्तरीय कार्यदलको बैठक सुरु गरेको छ । बैठकले सरकारमा सहभागी कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा तथा सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायतको सहभागिता रहेको छ ।
बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, केन्द्रको निर्देशनपछि पार्टीले अपनाउने रणनीति तथा सरकारमा कांग्रेसको निरन्तरताबारे छलफल भइरहेको छ ।
कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।
कार्यदलका सदस्यसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनुवार भने बैठकमा उपस्थित छैनन् ।








