दुर्गममा सिसीटिभी क्यामरा जडान असम्भव, ३०० मतगणनास्थलमा मात्रै जडान

काठमाडौँ । निर्वाचन आयोगको निर्देश अनुसार  देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट मतगणनाको निगरानी नहुने भएको छ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् ७५३ वटै स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो। तर, त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसकेको जानकारी निर्वाचन आयोगमा पुगेको आयोगका अधिकारीहरू बताउँछन्।

ती अधिकारीले भने, ‘करिब तीन सय मतगणनास्थलमा मात्रै सीसीटिभी क्यामेरा हुने भएको छ। हामीले सीसीटिभी क्यामेरा दिन सक्ने अवस्था थिएन स्थानीय तहले कतिपय ठाउँमा व्यवस्था गर्न नसक्ने भए।’

आयोगले देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ भने ७ सय ५३ स्थानीय तहमा मतगणनास्थल हुने बताइएको छ। दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नभएका कारण सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको सूचना आयोगले पाएको छ।

गत चैत १ गते परिपत्र गर्दै आयोगले , ‘मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने उदेश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणालीको प्रयोग गर्न आयोगबाट निर्णय भएकाले उक्त प्रणाली सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न निर्णय गरेकोले सो अनुसार आवश्यक व्यवस्था मिलाउन’ भनेको थियो।

सो निर्देशन अनुसार सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न सम्भव नभएपछि त्यस्ता दुर्गम स्थानहरूमा भिडियो रेकर्ड गरिने आयोगले जनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *