बाजुरामा गठबन्धनभित्रै झडप, १६ प्रहरीसहित २० घाइते

बाजुरा । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ।

बाजुराको बढिनन्दा नगरपालिका–९ मा भएको झडपमा १६ जना प्रहरीसहित २० जना घाइते भएका छन्। नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

झडपका क्रममा कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादी पार्टीका सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार गरेका छन्। बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीका अनुसार सचिव रावतसहित एकीकृत समाजवादीका दुई र कांग्रेसका दुईजना घाइते भएका छन्।

झडपपछि प्रहरी चौकी पुगेका समाजवादीका कार्यकर्ताहरूलाई प्रहरीले संरक्षण गरेको भन्दै काँग्रेस कार्यक्रताहरूले प्रहरी चौकीसमेत तोडफोड गरेका छन्। चौकी तोडफोड हुन थालेपछि प्रहरीले हवाई फायर गरेको प्रहरी निरीक्षक बोगटीले बताए। उनका अनुसार स्थिति अझै नियन्त्रणमा आइसकेको छैन।

झडप नियन्त्रण हुन नसक्दा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलतर्फ गएको छ। थप सुरक्षासहित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुखसहित घटनास्थलतर्फ गएको प्रहरीले जनाएको हो। १६ राउण्ड हावाई फायर गर्दासमेत स्थिती नियन्त्रणमा आउन नसकेको बाजुरा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *