उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन, ‘खर्च बैंक खाताबाट मात्रै गर्नू’

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको चुनावका उम्मेदवारहरूलाई खर्च बैंक खाताबाट मात्रै गर्न निर्देश गरेको छ।

आज मंगलबार आयोगले विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय तहका उम्मेदवारहरूलाई पारदर्शिता कायम राख्नका लागि खर्च गर्दा बैंक खाता अनिवार्य प्रयोग गर्न भनेको छ। निर्वाचन आयोग ऐन, २०७३ ले उल्लेख गरेअनुसार नै आयोगले यसपटक पनि सोही मापदण्ड पछ्याउन निर्देशन गरेको हो। कतिपय स्थानमा उल्लिखित व्यवस्था विपरीत हुने गरी कार्य भइरहेको भन्ने जानकारी प्राप्त भइरहँदा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन ऐन व्यवस्थाको स्मरण गराउँदै राजनीतिक दल एवं उम्मेदवारहरूलाई सतर्क गराएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ।’

आयोगले राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत् दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्नेसमेत जनाएको छ। साथै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दासमेत बैङ्क वा वित्तीय संस्था मार्फत् नै प्राप्त गर्न पनि आयोगले निर्देश गरेको छ। व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। 

आयोगले निर्वाचनसम्बन्धी हुने सम्पूर्ण खर्चको विवरण तथा बिल भरपाई राख्न, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनसमेत भनेको छ भने आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने जानकारी गराएको छ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *