महानिरीक्षकद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडाैँ । नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै संगठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो संगठनलाई दृढतापूर्वक डोहो¥याउने काम हुने अपेक्षा रहेको बताए ।

नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने बताए । हरेक साङ्गठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने उनको भनाई छ ।

त्यस्तै, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताए ।

महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *