मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २२ दिन बाँकी छ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । नेपालमा संघीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए ।

सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन् ।

परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ ?
आयोगले मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि गत फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको थियो । त्यसबीचमा निवेदन दिएका मतदाताहरूका साथै नयाँ मतदाताका परिचयपत्र एकसाथ छपाइ भइरहेको छ ।

त्यसपछाडि परिचयपत्र हराएका मानिसहरूले चुनावअघि अब नयाँ पाउने सम्भावना छैन । ‘करिब ३३ लाख मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘छापिएपछि मतदान पत्रसँगै अथवा अन्य सामग्रीसँग मतदान केन्द्रहरूमा पठाउने भन्नेबारे हामी हेर्छौँ ।’

मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी चिन्ता व्यक्त गर्दै आएका छन् । मतदानका लागि जरुरी भएरै आयोगले सबै योग्य मतदातालाई परिचयपत्र वितरण गर्ने गरेको प्रवक्ता पौडेलको तर्क छ ।

तर विगतको अभ्यास हेर्दा मतदाता परिचयपत्र हराएको खण्डमा नागरिकता अथवा अरू सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न दिने निर्णय चुनावको एक दुई–दिनअगाडि आयोगले गरेका उदाहरण छन् । ‘यसपालि के हुन्छ भन्ने कुरा आयोगले गर्ने निर्णय भएकोले मैले अहिले नै केही भन्न सकिनँ,’ उनले भने, ‘यसबारे आधिकारिक निर्णय भएको छैन ।’

उसो भए आजको मितिसम्म निर्वाचन आयोगको आधिकारिक धारणा भनेको मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हो ? भन्ने प्रश्नमा प्रवक्ता पौडेलले भने- ‘हजुर हो, मैले भन्नुपर्दा त्यही नै हो ।’

परिचयपत्र कहिले बाँडिन्छ ?
अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदान केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ । प्रवक्ता पौडेलका अनुसार मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आआफ्नो परिचयपत्र लिन पाउँछन् ।

स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिसकेको छ । –बीबीसीको सहयोगमा

प्रतिक्रिया

14 thoughts on “मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

    1. नयाँ मतदान परिचय पत्र बनाउन पाउनको लागि कहाँ सम्पर्क गर्ने नि?

    1. मेरो मतदाता परिचय पत्र हराएको थियो म काठमाडौ तिर थिए विशेष काम ले आउन पाइन अब के मैले भोट हाल्न नपाउने हो ?

  1. Jasko fagun paxi ya tatkalai nagrikta r nirwachan kard duitai harayo tyo bichara k grn sakx teso vy bharstchari vaninx ki vanidain

  2. परिचय पत्रको लागि निबेदन दिने मात्र भनेको थियो तर कहिले पाउने भनेको थिएन । फोटो खिचाएका तर परिचय पत्र नपाएका मतदातालाई पहिलो पटक आयोगले दिनु पर्यो नि !

  3. Online Voter ID को तत्काल व्यवस्था गर्नु पर्यो | Mobile मा Download गर्न मिल्ने खालको App बनाइ Play Store वा App Store मा राख्ने व्यवस्था गरी जन जनमा सूचना प्रवाह गर्नु पर्यो तुरन्त !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *