कास्कीमा कांग्रेस नीति : नेतृत्व नछोड्ने

पोखरा । सबै तहमा दाेस्राे भएको नेपाली कांग्रेसले कास्कीमा गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । निर्णय मात्रै होईन, गठबन्धनका नेतृत्वसँग पटकपटक छलफल र समझदारी भएका छन् ।

नेपाली कांग्रेसले अन्नपूर्णको अध्यक्ष बाहेक ५ वटै पालिकाको प्रमुख र उपप्रमुख गुमाएको थियो, भारी मतान्तर साथ । ७२ वडा रहेको यहाँ जम्मा २४ वडा कांग्रेसले जितेको थियो ।

पोखरा महानगरपालिकामा १३ हजार ७ सय २ मतान्तरले एमालेका मान वहादुर जिसी मेयर भए । १२ हजार १ सय १० मतान्तरले मन्जुदेवी गुरुङले उपमेयरमा जितिन् । ११ वडा कांग्रेसले जित्दा एमालेले २२ वडामा बाजी मा¥यो । २०७४ को स्थानीय चुनावमा भरतपुरमा रेणुलाई चुनाव जिताएको कांग्रेसलाई जिताउन पोखरामा माओवादीका उम्मेद्वार विश्वप्रकाश लामिछानेले उम्मेद्वारी फिर्ता लिएका थिए । तर कांग्रेस–माओवादीको गठबन्धन एकमन भएन ।

मादी गाउँपालिकामा ९ सय ५३ मतान्तरले एमाले उम्मेद्वार वेदबहादुर गुरुङ विजयी भएका थिए । उपाध्यक्षमा झनै बढी मतान्तर १ हजार ३ सय ९२ ले पराजीत भएको हो । यहाँ कांग्रेसले ३ वडा मात्रै जितेको थियो । रुपा गाउँपालिकामा ८ सय ९७ मतान्तरले एमालेका नवराज ओझा विजयी भए । उपाध्यक्षमा ५ सय ५७ मत मात्रै फरक थियो । यहाँ कांग्रेसले ३ वटा वडामा अध्यक्ष जितेको हो ।

माछापुच्छ्रे गाउँपालिकामा १ हजार ७ मत अन्तरले एमालेका कर्ण गुरुङ अध्यक्ष निर्वाचित भए । १ हजार १ सय ६ मतान्तरले उपाध्यक्ष पराजित भएको हो । यो पालिकामा एउटा मात्रै वडा कांग्रेसले जितेको छ । अन्नपूर्ण गाउँपालिकामा २ सय ६४ मतान्तरले मात्रै कांग्रेसका युवराज कुवँर विजयी भए । १ सय १७ मतान्तरले कांग्रेसकी उपाध्यक्ष उम्मेद्वार पराजित भइन् । अन्नपूर्णका वडाध्यक्षमा कांग्रेसको बहुमत ६ वडा जितेको छ ।

अहिले पोखराको मेयरमा माओवादीले पैंचो दावी पेश गरेको छ भने कांग्रेसले दावी छोडेको छैन । एकीकृत समाजवादीले पनि एमाले फुटाएको भाग गठबन्धनसँग खोजिरहेको छ । यद्यपी यहाँको टिकट बाँडफाँट निकै पेचिलो हुने देखिन्छ । नेपाली कांग्रेसको जिल्ला नेताहरूले कास्कीका कुनैपनि पालिकाको नेतृत्व छोड्न खोजेका छैनन् ।

‘नेतृत्व सबै पालिकामा कांग्रेसकै हुन्छ । उप पदमा गठबन्धनलाई छोड्न सकिन्छ,’ सचिव भानु ढकाल भन्छन्, ‘सकेसम्म वडाध्यक्ष समेत नछोड्ने पक्षमा कांग्रेस छ । सल्लाह भयो भने केही वडाहरू गठबन्धनलाई छोड्ने हो ।’ मतभारका हिसावले सबै पालिकामा कांग्रेसको नेतृत्व हक लाग्ने उनको भनाई छ । सभापति किशोरदत्त बराल पनि आफ्नो कार्यकालमा कांग्रेसलाई सबै पालिका जिताउन चाहान्छन् । तर कसरी भन्ने टुंगो छैन ।

‘सबै पालिकामा जित्ने गरी गठबन्धन हुन्छ । हामी व्यक्ति हेरेर पनि उम्मेद्वारी निर्धारण गर्छौं,’ उनले भने, ‘सकेसम्म पालिकाको नेतृत्व कांग्रेसले नै राख्नुपर्छ । सोही अनुसार छलफल चलाएका छौं ।’ त्यसो त कांग्रेसले अरू पार्टीसँगको छलफलमा पनि नेतृत्व दिएर गठबन्धनमा छलफल नगरेको उनले बताए । अरू पार्टीलाई वडामा अल्झाएर मुल नेतृत्वमा भने आफैँ आउने कांग्रेसको चाहना गठबन्धनका दलहरूले पूरा गर्ने देखिँदैन ।

जिल्ला तहबाट निर्णय गर्न नपाउँदा पोखरा महानगरकै नेतृत्व गुम्ने अवस्था आउन सक्छ । यहाँ प्रमुख तीन पार्टीकै दावी छ । जनता समाजवादी कुनै गाउँपालिकाको उपाध्यक्षमा पनि मान्ने अवस्था छ । जनमोर्चाले केही वडामा मागदावी पेश गर्न सक्छ । धेरै पार्टीहरूबीच गठबन्धन भएकोले भागबण्डामा चुनौति बढेको छ ।

स्राेतका अनुसार पोखराको उपमेयर सहित एउटा गाउँपालिकाको अध्यक्ष माओवादीलाई दिने, एउटा गाउँपालिकामा उपाध्यक्ष दिएर एकीकृत समाजवादीलाई फकाउने कांग्रेसको रणनीति छ । माओवादीले मादीमा बढी दावी गरेको छ ।

अहिले मादीका ३ वडामा माओवादीबाट निर्वाचित अध्यक्ष छन् । माओवादीले मादीलाई नै प्रभाव क्षेत्र मानेको छ । एकीकृत समाजवादीले भने पोखराका केही वडा र रुपा गाउँपालिकालाई प्रभाव ठानेको छ भने जसपाले अन्नपूर्ण गाउँपालिका ताकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *