होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

काठमाडौँ । होलीलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा ३ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागिएको हो ।

जथाभाबी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोषसिंह राठोरले बताए । उनकाअनुसार यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ ।

काठमाडौँमा मात्र १ हजार ७०० को सङ्ख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६ सयभन्दा बढी र भक्तपुरमा ४ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको सङ्ख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ ।

हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको छ ।

इच्छाविपरीत रङ दले मुद्दा
यस्तै जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । ‘होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानुनानुसार अगाडि बढ्छ । सबैले पर्वलाई मर्यादित र संयमित रूपमा मनाऔँ,’ एसपी राठोरले भने, ‘मदिरालगायत अन्य लागूऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ ।’

कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । काठमाडौँका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् । यो वर्षको होली पर्व काठमाडौँसहित पहाडी र हिमाली क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =