दलहरू स्थानीय निर्वाचनकेन्द्रित, कुन पार्टीको कस्तो योजना ?

गठबन्धन भर्सेस एमाले होला ?

काठमाडौँ । एमसीसीको रस्साकस्सी सकिएसँगै स्थानीय निर्वाचनको माहोल शुरू भएको छ । पार्टी प्रवेशका समाचारहरू र दलहरूको तयारीले स्थानीय निर्वाचनको माहोल शुरू भएकाे अनुभव हुन थालेका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि ८० वटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । स्थानीय निर्वाचन वैशाख ३० गते एकै चरणमा सक्नेगरी तोकिएको छ ।

०००

सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय निर्वाचनको तयारीस्वरूप तीन महिने पार्टी प्रवेश कार्यक्रम नै सञ्चालन गरिरहेको छ । ‘एमाले स्थानीय निर्वाचनकै तयारीमा छ,’ एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘एमालेले १०औं महाधिवेशन सकिँदै गर्दै अब स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्छ भनेर भनेको हो । अहिले हामी जिल्लाकेन्द्रित भएका छौँ । हामीले जिल्लाहरूमा स्थानीय निर्वाचनमा लाग्नुस् भनर भन्दै आएका छौँ । सबैभन्दा पहिले स्थानीय निर्वाचनकाे तयारी थाल्ने दल नै एमाले हाे ।’

अब आवश्यकताअनुसार केन्द्रीय समितिले निर्णयहरू गर्ने उनको भनाइ छ । ‘हाम्रो स्थानीय निर्वाचनको ठूलो तयारी नै पार्टी प्रवेश हो,’ उनले भनेका छन्, ‘अब यसबाहेक आवश्यक परेको खण्डमा केन्द्रीय समितिले आवश्यक निर्णयहरू लिँदै जान्छ ।’

एमाले केन्द्रीय सदस्य लालबाबु पण्डित पनि एमालेले आफ्नाे शक्तिमा विश्वास गरेर स्थानीय निर्वाचनमा हाेमिने बताउँछन् । ‘एमाले लाेकतान्त्रिक पार्टी हाे,’ नेता पण्डितले भनेका छन्, ‘एमालेले आफ्नाे शक्तिमा विश्वास गरेर स्थानीय निर्वाचनमा जान्छ, अरु तयारी के चाहियाे र ?’

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गर्दै फागुन २९ गतेदेखि घरदैलो कार्यक्रम गर्दै छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको घोषणा गरिसकेको कांग्रेसले जिल्लागत रूपमा केन्द्रीय प्रतिनिधिसमेत तोकिसकेको छ ।

यसक्रममा एमसीसीबारे जनतामा रहेको भ्रम चिर्नेसमेत कांग्रेसले बताएको छ । ‘एमसीसीसँगै अन्य राष्ट्रिय राजनीतिमा विरोधभासका रूपमा देखिएका कतिपय विषयवस्तुबारे हामी जनतालाई बुझाउने कोसिस गर्नेछौँ,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘समग्रमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका नेताहरूले सबै कुराबारे बुझाउने कोसिस गर्नुहुन्छ ।’

कांग्रेसले अवधि सकिएका भ्रातृ संगठनहरूको फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने र उनीहरूलाई पनि स्थानीय निर्वाचनकै तयारीबारे गृहकार्य दिने भएको छ । कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल भूतपूर्व सैनिक संघलगायतको अवधि समाप्त भइसकेको छ । फागुन मसान्तभित्र यी संस्थाको तदर्थ समिति बनाएर जाने कांग्रेसले बताएको छ ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि स्थानीय निर्वाचनकेन्द्रित हुने निर्णय गरिसकेको छ । फागुन २० र २३ गते बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनकेन्द्रित हुने नीतिगत निर्णय गरिसकेको छ । माओवादीले चुनावी तालमेलका लागि कार्यदलसमेत बनाउने भएको छ । ‘सम्भव भए गठबन्धनबाट मिलेर जाने नभए पनि आफैँ लड्नेगरी काम गर्छौँ,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले भनेका छन् ।

माओवादीले यसअघि फागुन ९ गते नै परिपत्र गर्दै लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न भनेको थियो । अब पनि यहीअनुरूप माओवादी स्थानीय तहमा अगाडि जाने गुरुङको भनाइ छ । ‘अहिलेको मतदाता नामावलीको आधारमा पार्टीहरूको मत संख्या, तटस्थ मत, परिवर्तन हुनसक्ने मतको आकलन तथा समग्र विश्लेषणसहित पार्टीले विजय हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिहरू तयार हुँदैछन्, हुन्छन्,’ गुरुङले भने, ‘यसपछि थप निर्णय गर्दै हामी अगाडि जान्छौँ ।’

सातै प्रदेशमा विभिन्न जिल्लाहरू समेटेर चुनावी कमान्ड बनाउने माओवादीले जनाएको छ । यसका लागि माओवादीले प्रदेश इञ्चार्जसमेत तोकिसकेको छ ।

यसैगरी अर्को सत्ता साझेदार दल एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने कार्ययोजना बनाएको छ । फागुन २५ र २६ गते बसेको केन्द्रीय समिति बैठकले यसको कार्ययोजना नै पारित गरेको छ । महासचिव डा. देवुराम भुसालले भनेका छन्, ‘आसन्न स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्ने र त्यसबाट आर्जन शक्तिले देश र विकासका लगि खर्चिने प्रण गरेको छ ।’

अहिलेको गठबन्धनलाई जोगाउँदै स्थानीय निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय छ । ‘हुन त हामीले मात्रै भनेर अथवा गठबन्धनको एकीकृत समाजवादीले भनेर मात्रै त कहाँ हुन्छ र । तर, हामीले त्यहाँ रहेका दलहरूलाई सुझावसहित अनुरोध गर्नेछौँ,’ महासचिव भुसालले भनेका छन् ।

अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले पनि अब निर्वाचनकेन्द्रित कार्यक्रम अगाडि सार्ने भएको छ । केही दिनभित्र कार्यकारिणी समितिको बैठक बसेर यसको टुङ्गो लगाउने नेता रामसहाय यादवले बताए ।

स्थानीय निर्वाचनबारे अनौपचारिक रूपमा छलफल भइरहेको र यसलाई कार्यकारिणी समितिको बैठकले नीतिगत निर्णयका रूपमा ल्याउने नेता यादवको भनाइ छ । ‘हाम्रो अनौपचारिक रूपमा पनि छलफल भइरहेको छ,’ नेता यादवले भनेका छन्, ‘स्थानीय निर्वाचनमा कसरी जाने, कस्तो रणनीति बनाउने वा कसरी जाने भन्नबारे हामी छलफल गरेर निर्णयमा पुग्नेछौँ चाँडै ।’

गठबन्धन भर्सेस एमाले होला ?

सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू ‘गठबन्धन जोगाइराख्नु पर्छ’ भनेर लागिरहेका छन् । गठबन्धन जोगियो भने मात्रै अहिलेको सबैभन्दा ठूलो दल एमालेमाथि विजय प्राप्त गर्न सकिने उनीहरूको प्रक्षेपण छ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन जोगाउनुपर्छ भन्नेमा एकमुख छन् ।

बिहीबार वीरगञ्ज पुगेका प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले भनेका छन्, ‘अवस्था कसै न कसैसँग मिल्नुपर्ने छ । त्यसैले गठबन्धनकै साथ र सहयोगमा प्रधान मन्त्री बनेको हुँ । कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ । एक्लै चुनाव लड्दा अघिल्लो चुनावमा के भयो ? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’ प्रधान मन्त्री देउवा एमालेजस्तो बलियो पार्टी विपक्षमा हुँदाहुँदै छुट्टिुन नहुनेमा छन् ।

तर, कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले भने कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताउँदै आएका छन् । उपसभापति पूर्णबहादुर खड्का कांग्रेसले योबारे अहिल्यै निर्णय गरिनसकेको बताउँछन् । ‘गठबन्धनको आवश्यकता रहन्छ, रहँदैन, गर्नुपर्छ वा गर्नु पर्दैन भन्नेबारे अहिल्यै निर्णय गरेको छैन,’ उपसभापति खड्काले भनेका छन्, ‘यसबारे पार्टीले केही दिनपछि निर्णय गर्छ । भर्खर त हामीले गाउँ अभियान चलाएका छौँ । यो अभियानबाट आएको प्रतिक्रियापछि मात्रै निर्णय गर्छौँ ।’

माओवादी नेता लीलामणि पोखरेल भने अहिले गठबन्धनको विकल्प नरहेको जिकिर गर्छन् । आफूहरूको प्रयास पनि यही नै रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो विशेष परिस्थितिमा यो गठबन्धन बनेको हो । तर, अहिले दलहरूको स्पीरीट् मिलेको पनि छ । भलै केही विषयहरूमा मतान्तर होला । नभए त सबैको कुरा देश विकासकै हो, समृद्धिकै हो । यो गठबन्धन रहनुपर्छ ।’ यसका लागि माओवादी केन्द्रले विशेष पहल गर्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर पनि गठबन्धन अहिलेको आवश्यक रहेको बताउँछन् । ‘हिजो संविधान र व्यवस्थाको रक्षा गर्न बनेको र गरेको पनि यही गठबन्धनले हो,’ नेता तुलाधरले भने, ‘यसैले अझै पनि हिजोकै जस्तो प्रतिगमनकै डर पनि टरेको छैन । यसैले पनि यो गठबन्धन रहनुपर्छ भन्ने एकीकृत समाजवादी मान्यता राख्दछ ।’

उनले कांग्रेसले इच्छा नदेखाए उबाहेकको पनि गठबन्धन बन्नसक्ने बताए । ‘गठबन्धनमा आबद्ध दलमध्ये कांग्रेस प्रमुख दल हो । कांग्रेसको इच्छा भएन भने कांग्रेसबाहेकका दलको गठबन्धन बन्न सक्छ । तर, त्यो कुरा संस्थागत रूपमा कांग्रेसका लागि घाटा हुन सक्छ,’ तुलाधरले भनेका छन् ।

०००

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरूले भने गठबन्धनसँग एमाले नडराउने बताउँदै आएका छन् । उनीहरूले एमालेविरुद्ध जति नै गठबन्धन गरेपनि एमाले नै विजयी हुने दाबी गर्ने गरेका छन् । अध्यक्ष ओलीले भनेका छन्, ‘एमाले एक्लै चुनाव लड्न तयार छ । गठबन्धनलाई ५ दिनसम्म नउठ्नेगरी पछार्न तयार छ ।’

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग थप्छन्, ‘एमाले लोकतन्त्रलाई मान्ने पार्टी हो । संविधानलाई मान्नुपर्छ भन्ने पार्टी हो । यसैले एमालेले कुनै खाले अवाञ्छित कुरा गर्दैन । गठबन्धन क–कसको बन्छ, बनोस् । एमाले आफ्नो ठाउँमा बस्छ र चुनाव लड्छ । अरुसँग एमालेलाई सरोकार छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *