खाद्यान्नमा भारतीयसँग प्रतिस्पर्धा गर्न खुला सीमा बाधक, संकटमा नेपाली खाद्य उद्याेग

रुपन्देही । खुला सीमाका कारण खाद्यान्नमा भारतीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालका खाद्य उद्योग संकटमा परेको रुपन्देहीका उद्योगीले बताएका छन् । रुपन्देही उद्योग संघले खाद्यान्न उद्योगमा देखिएका समस्या र उद्योगीले भोगेको अप्ठ्याराबारे छलफल कार्यक्रममा उद्याेगीहरूले यस्तो तथ्य उजागर गरेका हुन् ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले नेपालमा उद्योग सञ्चालन गर्ने कुरा निकै गाह्रो भएको बताउँदै खुला सीमाका कारण खाद्यान्नमा भारतीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालका खाद्य उद्योग संकटमा पर्दै गएको बताए ।
याे पनि– सात महिनामा भित्रियो २० अर्बको चामल र सवा १० अर्बको धान
उनले भारतीय बजारमा पाइने सस्तो खाद्यवस्तु सहज रुपमा नेपाल भित्रिँदा स्वदेशी खाद्यवस्तुले मूल्यमा प्रतिपर्धा गर्न नसकेको अवस्थाप्रति राज्यको ध्यान जानुपर्ने बताए ।
अध्यक्ष पौडेलले उत्पादनमूलक उद्योगले प्रोत्साहन नपाउने अवस्था रहँदासम्म उद्योग विस्थापित हुने र आयातमूखी व्यापार बढ्दै जाने बताए । स्वदेशी उद्योगको संरक्षणमा गम्भीर बन्न उनले आग्रह गरे ।
संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले कच्चा पदार्थ तथा कृषि उत्पादनमा भएको मूल्यवृद्धि र विद्यमान सरकारी नितिका कारण नेपालका खाद्यन्न उत्पादन गर्ने उद्योग निकै मारमा परेको र त्यसको प्रत्यक्ष असर एवं चपेटामा उपभोक्ता पनि पर्नुपरेको बताए ।
याे पनि– वार्षिक १४ अर्बको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात
निर्वतमान अध्यक्ष बाबुराम बोहोराले खाद्य उद्योग क्षेत्रमा विद्यमान नीतिगत समस्याको सुधार गर्न माग गर्दै दैनिक जीवनका लागि अत्यावश्यक उपभोग्य वस्तुको परनिर्भरताको जोखिम कम गर्न आग्रह पनि गरे ।
संघका सल्लाहाकार भूपालकुमार श्रेष्ठले इमानदार भएर उद्योग सञ्चालन गर्दा पनि विभिन्न कोणबाट समस्या झेल्नु परेकोमा चिन्ता व्यक्त गर्दै देखिएका समस्याको समाधानका लागि उद्योगीको संगठनलाई बलियो बनाएर आवाज उठाउनुपर्ने कुरामा जोड दिए ।
याे पनि– अरबौँको मसला आयात : नेपालमै फलाउन सकिँदैन ?
कार्यक्रममा उद्योगी देवानन्द पाण्डेले हालको विषम परिश्थितिबाट खाद्य उद्योगीहरु निकै नै प्रताडित हुनु परेको बताउदै कच्चापदार्थको अत्याधिक महगीले वजार अस्तव्यस्त बन्न पुगेको गुनासो गरे ।
खाद्यान्न वस्तुगत समितिका संयोजक रमेश आचार्यले बढ्दो मूल्यवृद्धिले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको, बजारमा कालोवजारी तथा बिचौलिया बढेको, उत्पादन लागत बढेको जस्ता विषय जानकारी गराए ।
उद्योगी कन्हैयालाल कसौधनले बजारको मूल्यबृद्धि र उद्योगहरुको समस्याका बारेमा राज्य चनाखो हुनु पर्ने अवस्था आएको भन्दै बजारलाई राज्यले नियन्त्रण गर्न नसकेमा वजार अराजकता निम्तने खतरा बढेको बताए ।
कार्यक्रमका बोल्ने अधिकांश उद्योगीले चामल, तेल दाललगायतका खाद्यान्न उद्योगमा देखिएको बजारको समस्या, कच्चापदार्थमा भएको चर्को मूल्यवृद्धि तथा विभिन्न भन्सार तथा करमा रहेका उद्योग विरोधी प्रावधान हटाउन पहल गर्न आग्रह गरे ।
संघका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षता, महासचिव हरिबहादुर खत्रीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापनमा भएको अन्तरक्रियामा संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, कोषाध्यक्ष हिरामणी भरट्टराई, कार्य समिति सदस्य लालबहादुर थापा, कासस मोहनीलाल रिजाल, उद्योगी यादव गैरे, उद्योगी देवीराम पाण्डेलगायतले बोल्नु हँुदै बजारमा देखापरेको अस्वभाविक गतिविधि, चर्को मूल्यवृद्धि तथा खाद्यान्नको अभावका बारेमा तत्काल अनुगमन गर्न र चर्को मूल्यवृद्धि नियन्त्रणका उपाय खोज्न आग्रह गरेका थिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा वृद्धि गरेको ब्याजदरको पुनरावलोकन हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।









