वार्षिक १४ अर्बको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात

७ महिनामै आयो ६ अर्ब ६० करोड ८ लाख १४ हजार रुपैयाँको लसुन, प्याज, जिरा, धनियाँ मेथी र अदुवा

काठमाडौँ । नेपाल भान्सामा दैनिक प्रयोग हुने मसलाजन्य कृषि वस्तुमा पूर्ण रुपमा परनिर्भर बन्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ६० करोड रुपैयाँको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात भएको छ ।

तरकारीजन्य परिकार सेवनमा नेपालीकाे बढ्दाे परिकारका कारण समेत प्रत्येक वर्ष कृर्षिजन्य मसलाकाे प्रयाेग बढ्दाे छ । यसले  आयात बढाएकाे छ । प्रत्येक वर्ष बढ्दै गएकाे मसला आयातकाे अवस्था हेर्दा चालू वर्षकाे अन्त्यसम्ममा यी ६ वस्तुकै आयातमा झण्डै १४ अर्ब रुपैयाँ बाहिरिने देखिन्छ । वार्षिक रुपमा यी ६ वस्तुको आयातमा झण्डै १४ अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।

लसुन, प्याज, जिरा, धनियाँ र मेथी केही उत्पादन भएपनि यसले नेपालको माग धान्दैन । अदुवामा आत्मनिर्भर हुँदाहुँदै पनि भण्डारण नहुँदा आयात हुने गरेको छ ।

कुन वस्तुको आयात कति ?

साढे ३ अर्बको प्याज : चालु आर्थिक वर्षकाे ७ महिनामा ५१ लाख ३२ हजार १ सय १९ किलोग्राम सुकेको प्याज आयात भएकाे छ । त्यस्तै, ९ करोड ३८ लाख ३ हजार ३ सय ७७ किलो हरियो तथा ताजा प्याज आयात हुने गरेको छ । यसरी कुल ९ करोड ८९ लाख ३५ हजार ४ सय ९६ किलो अर्थात् ९८ हजार ९ सय ३५ मेट्रिक टन प्याज आयात भएको छ । यसरी ७ महिनामा कुल ३ अर्ब ६९ करोड ६० लाख २० हजारको प्याज आयात भएको छ ।

गत वर्ष कुल ४ अर्ब ९६ करोड ३६ लाख १३ हजार रुपैयाँको प्याज आयात भएको थियो । यस आधारमा चालू वर्षको प्याजको कुल आयात पनि ६ अर्ब भन्दा बढीको हुने अनुमान गर्न सकिन्छ ।

जिरा १ अर्ब ३९ करोडको : चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ३९ करोड ५८ लाख ९ हजार रुपैयाँको जिरा आयात भएको छ । गत वर्ष २ अर्ब ४५ करोड ८९ लाख ९७ हजार रुपैयाँको जिरा आयात भएको छ ।

धनियाँ १ अर्बको : चालु आर्थिक वर्षको ७ महिनामा कुल ५८ करोड ९७ लाख ६४ हजार रुपैयाँ बराबरको ४ हजार ९ सय ९४ मेट्रिक टन धनियाँ आयात भएको छ । गत आर्थिक वर्ष झण्डै १ अर्बको धनियाँ आयात भएको छ ।

लसुन ७० करोडको : चालु वर्षको ७ महिनामा ७० करोड ६१ लाख ८९ हजार रुपैयाँको लसुन आयात भएको छ । गत वर्ष १ अर्ब ५० करोड १९ लाख २७ हजार रुपैयाँको लसुन आयात भएको छ ।

मेथी ११ करोड ९६ लाखको : चालु आर्थिक वर्षको ७ महिनामा ११ करोड ९६ लाख २५ हजार रुपैयाँको मेथी आयात भएको छ । गत वर्ष २१ करोड २० लाख ८० हजार रुपैयाँको मेथि आयात भएको थियो ।

अदुवा ९ करोड ३४ लाखको : चालू वर्षको ७ महिनामा ९ करोड ३४ लाख ७ हजार रुपैयाँको अदुवा आयात भएको छ । गत वर्ष १७ करोड ५७ लाख १५ हजार रुपैयाँको अदुवा आयात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *