७ महिनामा ५९ करोडको धनियाँ आयात

काठमाडौँ । नेपालमै फल्ने धनियाँसमेत पछिल्लो समय ठूलो परिमाणमा आयात हुन थालेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (२०७८/७९)को पहिलो ७ महिनामा ठूलो परिमाणमा धनियाँ आयात भएको देखिएको हो ।

यो अवधिमा कुल ५८ करोड ९७ लाख ६४ हजार रुपैयाँ बराबरको ४ हजार ९ सय ९४ मेट्रिक टन धनियाँ आयात भएको छ । यस मध्ये ४ हजार ८ सय ९७ मेट्रिकटन धनियाँ दाना आयात भएको छ । यो भनेको ४८ लाख ९६ हजार ९ सय ९३ किलोग्राम हो । यसको मूल्य ५७ करोड ३४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, झण्डै ९८ मेट्रिकटन अर्थात् ९७ हजार ८ सय ६३ किलोग्राम धनियाँको धुलो आयात भएको छ । यसको मूल्य १ करोड ६२ लाख ९७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा झण्डै १ अर्ब रुपैयाँको धनियाँ नेपालमा आयात भएको देखिन्छ ।

याे पनि : १ अर्ब बाहिरियो धनियाँ किन्न, धनियाँमा पनि आत्मनिर्भर बन्न सकिन्न ?

आफ्नो भान्साको प्रयोगका करेसा वा कौसीबारीमा आफैँले उत्पादन गर्दासमेत हुने धनियाँको आयातमा अर्बौँ रुपैयाँ बाहिरिँदा यसले देशको अर्थतन्त्रलाई आत्मनिर्भरभन्दा परनिर्भरतातर्फ लैजानेभन्दै विज्ञहरूले चिन्ता जनाउँदै आएका छन् ।

पछिल्लो समय नेपालमै उत्पादन हुन सक्ने उपभोग्य वस्तुको आयातसमेत अनियन्त्रित रूपले बढ्न थालेपछि त्यसले विदेशी मुद्रा सञ्चिती घट्दै गएको भन्दै विज्ञहरूले चिन्ता जनाइरहेका छन् । उपभोग्य वस्तुको अनियन्त्रित आयातले मुद्रा सञ्चिती घटेको, शोधनान्तर स्थिति सन्तुलनमा असर परेको र व्यापार घाटा तीव्र रूपले बढेको भन्दै राष्ट्र बैङ्कले यसलाई नियन्त्रण गर्ने उपाय अपनाइरहेको छ ।

नेपालमै उत्पादन हुन सक्ने र आयात नगर्दा पनि हुने कतिपय वस्तुको आयातका लागि एलसी खोल्दा बैङ्कमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ । तर, नागरिक आफै सचेत नभएसम्म राष्ट्र बैङ्कको कडाइले मात्रै आयात पुरै रोकिने देखिँदैन । खुला सीमाका कारण मार्जिनमा कडाइ गर्दा अवधै आयात निम्तिने खतरा समेत व्यवसायी आफैँले औँल्याउन थालेका छन् ।

राष्ट्र बैङ्कको कडाइले यस्ता वस्तुको आयातलाई केही कम गरे पनि यस्ता कृषिजन्य उत्पादन देशभित्रै बढाउन सरकारले वृहत् अभियानको थालनी गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *