१ अर्ब बाहिरियो धनियाँ किन्न, धनियाँमा पनि आत्मनिर्भर बन्न सकिन्न ?

काठमाडौं । नेपालमा वर्षिक झण्डै १ अर्ब रुपैयाँको धनियाँ आयात हुने गरेको पाइएको छ । धनियाँको दाना र धुलो गरी उक्त मूल्यको धनियाँ आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिना (जेठसम्म) मा ९० करोड १४ लाख ४० हजार रुपैयाँको धनियाँ आयात भएको छ । यस अवधिमा ७ हजार ५ सय ९९ दशमलव ०२३ मेट्रिक टन (७५ लाख ९९ हजार २३ किलोग्राम) धनियाँ आयात भएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को यही अवधि (११ महिना)मा ७५ करोड ७० लाख २१ हजार रुपैयाँको धनियाँ आएको थियो । गत आर्थिक वर्षको १२ महिनामा भने ८६ करोड ६३ लाख ७२ हजार रुपैयाँको धनियाँ आयो ।

चालू आर्थिक वर्षको ११ महिनामै गत आर्थिक वर्षको भन्दा बढी मूल्यको धनियाँ आयात भइसकेकाले यो वर्ष अन्तिमसम्ममा धनियाँको आयात १ अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।

धनियाँको साग (हरियो धनियाँ) भने भारतबाट नगण्य मात्रामा आउने भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडासैनी बताउँछन् । ‘हरियो धनियाँ आउँदैन भन्दा पनि हुन्छ, अलिअलि आए पनि सागअन्तर्गत पर्ने भएकाले यसलाई छुट्टै तथ्यांकमा देखाइएको छैन,’ उनले भने ।

धनियाँमा पनि आत्मनिर्भर बन्न सकिन्न ?

नेपाल कृषिप्रधान देश भए पनि नेपाली भान्सामा मसलाको रुपमा प्रयोग हुने धनियाँमा विदेशकै भर पर्नुपरेको छ । नेपालमा धनियाँको दाना उत्पादन भए पनि निकै न्यून मात्रामा हुने गरेको एक साताअघि मात्र सेवा निवृत्त भएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसहसचिव (प्रवक्ता) डा. श्रीराम घिमिरेले बताए ।

‘दाना धनियाँको उत्पादन नेपालमा साह्रै न्यून छ तर धनियाँको सागमा भने हामी आत्मनिर्भर छौं,’ उनले भने, ‘टमाटर लगाएर किसानले जति प्रतिफल पाउँछ, धनियाँबाट त्यति पाउँदैन । त्यसो हुँदा किसानले टमाटर छोडेर छनियाँ लगाउँदैन । यसरी किसानले खेतीबालिमाथि छनोट गर्दा नेपालमा दाना धनियाँको उत्पादन कम भएको हो ।’

धनियाँको उत्पादन बढाउन अन्य बाली छोडेर धनियाँ नै लगाउन किसानलाई दबाब दिन नसकिने उनी बताउँछन् । दाना धनियाँको उत्पादकत्वको हिसाबले लगानी बढी हुने भएकाले पनि किसान यसतर्फ आकर्षित हुन नसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *