अरबौँको मसला आयात : नेपालमै फलाउन सकिँदैन ?

काठमाडौँ । नेपाल कृषिजन्य उत्पादनमा पनि परनिर्भर हुँदै जान थालेको छ । पछिल्लो तथ्याङ्कलाई आधार मान्दा नेपाल धान चामलमा मात्र होइन धनियाँ, जिरा, मेथी, अदुवा जस्ता मसलाजन्य उत्पादनमा पनि विदेशकै भर पर्न थालेका छौँ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ६० करोड रुपैयाँको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात भएको छ । तरकारीजन्य परिकार सेवनमा नेपालीकाे बढ्दाे परिकारका कारण समेत प्रत्येक वर्ष कृर्षिजन्य मसलाकाे प्रयाेग बढ्दाे छ । प्रत्येक वर्ष बढ्दै गएकाे मसला आयातकाे अवस्था हेर्दा चालू वर्षकाे अन्त्यसम्ममा यी ६ वस्तुकै आयातमा झण्डै १४ अर्ब रुपैयाँ बाहिरिने देखिन्छ ।  नेपालमा लसुन, प्याज, जिरा, धनियाँ र मेथी केही उत्पादन भए पनि यसले नेपालको माग धान्दैन । अदुवामा आत्मनिर्भर हुँदाहुँदै पनि भण्डारण नहुँदा आयात हुने गरेको छ ।

उत्पादन हुन सक्दैन नेपालमा ?
प्याजमा आत्मनिर्भर हुन र प्याजको उत्पादन बढाउन कृषि विकास मन्त्रालयले १२ वर्षअघि २०६४/६५ मै ‘मिसन प्याज’ अभियान सुरु गरेको थियो । यो कार्यक्रमका लागि सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा, रुपन्देही, धनुषा, दाङ, बाँके र बर्दिया गरी १० जिल्ला चयन भएका थिए ।

किसानलाई उन्नत बीउ, तालीम, नर्सरी स्थापनाका लागि सहयोग, आवश्यक कृषि औजार खरिदमा सहयोग गर्ने कार्यक्रम थियो । कार्यक्रमअन्तर्गत सिरहा, धनुषा, सप्तरी र बारामा मात्रै प्रतिजिल्ला साढे दुई करोडभन्दा बढी लगानी भयो । १८ हजार हेक्टर थप जमिनमा प्याज खेती विस्तार गर्ने र २ लाख ७१ हजार ६ सय ३४ टन थप प्याज उत्पादन गर्ने मिसनको लक्ष्य थियो । तर मिसन सञ्चालनमा आएको ५ वर्षमा २ हजार १ सय ४८ हेक्टर थप जमिनमा मात्रै प्याज खेती विस्तार हुन सक्याे । त्यसमाथि अनियमिततामा डुबेर यो अभियान नै असफल भयो ।

त्यसपछि सरकारले फेरि प्याजमा वा अन्य मसलाजन्य उत्पादनमा यो कार्यक्रम सञ्चालन गर्न सकेको छैन । आफ्नो करेसामा लगाएको प्याजले घरायसी उपभोगका लागि पनि पुगेको छैन । त्यसो हुँदा आयात बढेको छ ।

कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेल भन्छन्, ‘मिसन प्याजमा कृषक नै आकर्षित हुनु भएन । नेपालको उत्पादन लागत बढी पर्ने र लागतअनुसारको नाफा हुने गरी बजार नपाइने भएकोले किसानमा त्यति आकर्षण देखिएन ।’

लसुन खास गरी घरायसी प्रयोगका लागि र हरियो लसुन(पात)का लागि नेपालीले करेसामा खेती गर्ने गरेका छन् । तर, त्यो माग वा आवश्यकताभन्दा निकै न्यून परिमाणमा उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । यसले आयातलाई केही कम गरेको भए पनि बढ्दो आयातलाई रोक्न वा प्रतिस्थापन गर्न सकेको छैन ।

धनियाँ दानाको उत्पादन नेपालमा छैन भन्दा पनि हुन्छ । खास गरी नेपालमा हरियो धनियाँ (धनियाँको साग) नै प्रयोग हुने गरेकोले दाना धनियाँ उत्पादन हुँदैन । जिराको उत्पादन शून्यकै बराबर छ । मेथी पनि दानाको रूपमा नभई साग(तरकारी)को रूपमा प्रयोग गर्न उत्पादन हुने गरेको छ। त्यसो हुँदा दाना मेथीको समेत आयात हुने गरेको छ ।

तर, अदुवाको कथा भने अलि बेग्लै छ । नेपालले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको अदुवा निर्यात गर्ने गरेको छ । यस हिसाबले नेपाल अदुवामा आत्मनिर्भर छ । तर, उत्पादन भएको मौसममा बिक्री गरेर भारत पठाइन्छ । त्यसपछि अन्य सिजनमा नेपालले आफ्नै उपभोगका लागि त्यही अदुवा आयात गर्नुपर्ने अवस्था छ । यसले गर्दा भन्सार विभागको तथ्यांकमा अदुवाको आयात देखिएको छ ।

उत्पादन गर्न के छ समस्या ?
वरिष्ठ कृषि अर्थविज्ञ पौडेलका अनुसार नेपालमा यी सबै कृषि वस्तुको उत्पादन हुनसक्ने माटो र भौगोलिक अवस्थिति छ । घरायसी प्रयोगका लागि केही मात्रामा उत्पादन हुँदै पनि आएको छ । तर, व्यावसायिक उत्पादनका लागि भने मूल्य प्रतिस्पर्धी बनाउन नसकिएको उनको भनाइ छ ।

‘खास गरी नेपालको कृषि उत्पादनले भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यी सबै वस्तुको उत्पादन लागत भारतको तुलनामा नेपालमा बढी पर्छ । भारतीय वस्तुभन्दा नेपाली उत्पादन महँगो परेपछि नेपाली उत्पादनले बजार पाउने अवस्था रहँदैन ।’

उनका अनुसार लसुन, प्याज, मेथी, धनियाँ, जिरा जस्ता वस्तुको उत्पादनका लागि भारतबाटै बीउ आउने गरेको छ । नेपालमा बीउको उत्पादन नहुँदा भारतबाट महँगोमा किनेर ल्याउनुपर्ने बाध्यता छ । त्यस्तै रासायनिक मल र विषादी भारतबाटै आयात हुन्छ । विषादी छिट्ने स्प्रे ट्याङ्कीहरु, सिँचाइका सामग्रीहरूलगायत हरेकजसो कच्चा सामग्री भारतबाटै आउँछ ।

कृषिजन्य सामग्री ढुवानीका लागि आवश्यक ढुवानी साधन (गाडी) खरिद गर्दा चर्को भन्सारदरका कारण भारतको तुलनामा झण्डै ३ गुणा महँगो पर्छ । भारतको तुलनामा नेपालमा कृषि श्रमको ज्याला महँगो छ । ढुवानी भाडा महँगो छ । भारतमै उत्पादन हुने कच्चा सामग्री प्रयोग गरेर भारतीय किसानले उत्पादन गर्ने कृषि वस्तुको तुलनामा भारतबाटै सामान ल्याएर नेपाली किसानले उत्पादन गर्ने कृषि वस्तुकाे लागत तुलनात्मक रूपमा निकै बढी पर्न जान्छ । त्यसमाथि भारतमा किसानले सरकारबाट कृषिमा पर्याप्त अनुदान पाउने गरेका छन् । नेपालमा अनुदान दिइने गरेको छैन । यी यस्तै कारणले नेपालमा यी वस्तुको उत्पादन लागत बढी पर्छ । यसले गर्दा किसानले यी वस्तुको व्यावसायिक उत्पादन गर्न सक्दैनन् ।

मिसन प्याजपछि सरकारले यस्ता उत्पादन बढाउने अभियान सञ्चालनमा जाँगर नै देखाएको छैन । यसले बिस्तारै नेपाल कृषिका धेरै उत्पादनमा परनिर्भर बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *