नवलपरासीमा बैंकिङ कसुरका घटना बढ्दै

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आव २०८९/८० मा २३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए । दर्ता भएका बैंकिङ कसुरका सबैजसो मुद्दा चेक अनादरका छन् ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन् वा निक्षेप भए पनि पर्याप्त छैन् भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको छ महिनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

चेक अनादरका मुद्दा ह्वात्तै बढ्नुमा प्रमुख कारण आर्थिक सङ्कट हो । कोभिड–१९ पछि रोजगारी र व्यवसायमा परेको असर अहिले देखिन थालेको छ । आर्थिक सङ्कटका कारण लेनदेनमा अविश्वास र शङ्का बढ्दा बैंकिङ कसुरका घटना बढेका प्रहरी उपरीक्षक रेग्मीले बताए । आर्थिक कारोबारमा विश्वास कम हुँदै जाँदासमेत यस्ता घटना बढेका हुनसक्ने उनको भनाइ छ । कसैलाई व्यक्तिगत रूपमा दिएको रकम फिर्ता आउने सुनिश्चितता नहुने अवस्था देखेपछि तथा विश्वास कम हुँदै जाँदा मुद्दा दर्ता गर्न आउनेको सङ्ख्या बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *