मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु

काठमाडौं । मिटर ब्याज विरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेको छ ।

साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौंसम्मको पैदल यात्रा तय गरेका हुन् । न्याय मार्चको उद्घाटन गर्दै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिई अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।

अध्यक्ष कुशवाहले फर्जी तमसुकमार्फत किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तीव्र पारिएको भन्दै आक्रोश व्यक्त गरे । कार्यक्रममा बोल्दै अभियन्ता निर्ग नवीनले सरकारले मिटर ब्याज पीडितका समस्या समाधान गर्ने वाचा गरे पनि अहिले त्यसबाट पछाडि हटेको आरोप लगाए ।

उनले वर्तमान सरकारले पीडितका समस्या समाधानमा कुनै चासो नदेखाएकाले जनकपुरधामबाट पुनः पैदल यात्रा सुरु गरिएको जानकारी दिए । यस पटकको न्याय मार्च काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने र सरकारलाई आफ्ना पीडा सुनाउने लक्ष्य रहेको नवीनले बताए ।

न्याय मार्च सुरु गर्नुअघि पीडितहरूले मशाल जुलुस प्रदर्शन गरेका थिए । साथै, उनीहरूले प्रतीकात्मक रूपमा फर्जी तमसुकहरू जलाएर आन्दोलनको घोषणा गरेका थिए । पीडितहरूले साहु–महाजनको शोषणबाट मुक्ति र फर्जी तमसुक खारेजीको मागलाई मुख्य एजेन्डा बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =