राष्ट्रिय राजनीतिलाई हेर्दा झ्वाट्टै सरकारबाट बाहिरिन उपयुक्त देखेनाैँ : देवप्रसाद गुरुङ (अन्तर्वार्ता)

माओवादी जतिबेला पनि सरकारबाट बाहिरिन सक्छ

काठमाडौँ । अमेरिकी परियोजना एमसीसी अन्ततः आइतबार संसद्‌मा पेश भएको छ । संसद्‌मा पेश हुनुअघि सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संसद्‌मा पेश गर्ने सहमति भएपनि पेश भइसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीसहित जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा रहेको बताए, बताइरहेका छन् ।

एमसीसी पेश भइरहँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादीका केन्द्रका केही सांसदहरू त नाराबाजीमै उत्रिए । यथास्थितिमा एमसीसी पेश हुन नहुने र जबरजस्ती रूपमा पेश गरिए सरकारबाट बाहिरिने निर्णय यसअघि नै माओवादी केन्द्रले गरेको भएपनि माओवादी सरकारबाट बाहिरिएन ।

यसअघि आइतबार साँझ नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग केही सांसदहरूले छलफल गरेका थिए । छलफलका क्रममा सांसदहरूले माओवादी केन्द्र सरकारबाट यथाशक्य चाँडै बाहिरिनुपर्ने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले केही समय पर्खिएर हेर्नुपर्ने बताएका थिए ।

त्यसो त माओवादीले दोहोरो चरित्र देखाएको भन्दै आलोचनासमेत भइरहेको छ । बिहान बालुवाटारमा बसेर एमसीसी पेश गर्ने सहमति गर्ने तर, एमसीसीविरुद्ध नै सडकमा कार्यकर्ताहरू उतार्ने भनेर माओवादीकाे तीव्र आलोचना हुन थालेको छ ।

यी नै यावत् सन्दर्भमा मकालुखबरले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङसँग कुराकानी गरेकाे छ, प्रस्तुत छ:—

माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटी एमसीसी संसद्‌मा टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरेको थियो, के त्यो एक निर्णय मात्रै थियो ?
हो, माओवादी केन्द्रले त्यो नीतिगत निर्णय गरेकै हो । तर, राष्ट्रिय राजनीतिलाई नियाल्दा झ्वाट्टै बाहिरिइहाल्न पनि उपयुक्त नहुने देख्यौँ । त्यो भएर यो नीतिगत निर्णयलाई हामीले थाँती राखेका हौँ ।

अब कहिले बाहिरिन्छ ? कि बाहिरिँदैन ?
यो माओवादी केन्द्रले नीतिगत निर्णय गरिसकेको विषय हो । यस विषयमा अहिले पनि हाम्रो पार्टीमा छलफल नै भइरहेको छ । कसरी अगाडि बढ्दा राम्रो हुन्छ, राजनीतिक रूपमा अबको बाटो के यी यावत् विषयमा हाम्रो पार्टीमा छलफल नै भइरहेको छ । हामीले अबको राजनीतिक कोर्स हेरेर पाइला चाल्छौँ ।

ठ्याक्कै भनिदिनुस् न…
उपयुक्त समयमा जतिबेला पनि माओवादी केन्द्र सरकारबाट बाहिरिन सक्छ ?

कहिलेसम्ममा बाहिरिन्छ त ?
ठ्याक्कै यही दिन भनेर भन्ने अवस्था अहिले हाम्रो पार्टीमा छैन । तर, उपयुक्त समय हेरेर, राजनीतिक कोर्स हेरेर माओवादी केन्द्र सरकारबाट बाहिरिन्छ । नबाहिरिने होइन, बाहिरिन्छ । हाम्रो पार्टीले निर्णय गरिसकेको विषय हो । उपयुक्त समयमा हाम्रो पार्टीले सरकार छोड्छ ।

एमसीसीको सन्दर्भमा माओवादी केन्द्रको भूमिका दोहोरो भयो, दोहोरो चरित्र देखियो नि ?
भन्नेलाई त माओवादी केन्द्रले के गरोस् र ? भन्नेलाई भन्न दिनुपर्छ । विवाद गर्नेलाई गर्न दिनुपर्छ । तर, यथार्थ नबुझीकन वाहियात बोल्नेलाई त के भन्नू छ र ? माओवादी केन्द्रले उठाएको विषय हेर्नुस् न तपाईं— त्यहाँ राष्ट्रियताका विषय छन्, स्वाधीनताका सन्दर्भ छन् । यसै भनेको छैन माओवादी केन्द्रले । बुझेर विरोध गरेको छ । बुझेर बोलेको छ ।

दोहोरो भूमिका भयो भन्नु बिल्कुलै गलत हो ।

तर, तपाईंहरूको कार्यशैलीले नै त्यो देखाउँदैन र ? गठबन्धनको बैठकमा सहमति गर्नुभयो र दिउँसो संसद्‌मा तपाईं आफैँ उठेर विरोध गर्नुभयो, यो दोहोरो चरित्र नभएर के हो ?
गठबन्धनको बैठकमा हाम्रो दलको तर्फबाट अध्यक्षज्यूले प्रष्टै रूपमा बोल्नुभएको थियो । उहाँले प्रधान मन्त्रीज्यूलाई केही विकल्पहरूसमेत दिनुभएको थियो, त्यसमा तपाईं आफैँ पनि जानकार हुनुहुन्छ होला । प्रधान मन्त्रीज्यू छलफलका लागि एमसीसीलाई संसदीय दलमा पठाउने भन्दा पनि प्रक्रियामै जान्छ भन्नुभयो । यसपछि हामी उठेका थियौँ । कहाँ हामीले सहमति गर्‍याैँ ? बाहिर सञ्चारमाध्यममा जे-जे आउँछ त्यो सत्य मान्नु हुँदैन, तपाईंहरू के के लेख्नुहुन्छ अनि त्यही टेकेर सोध्नुहुन्छ ।

एमसीसी संसद्‌मा टेबुल भयो, अब प्रक्रियमा जाने नै भयो । तपाईंहरूले विपक्षमा मतदान गर्ने भनेर भन्नुभएको छ । अनुपस्थित हुने अनुमान पनि गरिएको छ । के गर्नुहुने ?
हामी बकाइदा संसद्‌मा उपस्थित भएर विपक्षमा मतदान गर्छौँ । कसले भन्यो फेरि अनुपस्थित हुने भनेर ? हामीले भनिसकेका छौँ कि— विपक्षमा मतदान गर्ने भनेर । हामी विपक्षमा मतदान गर्ने छौँ । अनर्गल प्रचार तपाईंहरू पनि नगर्नुस् ।

आफैँ सरकारमा बस्ने, आफैँ विरोध पनि गर्ने’ काम नैतिकता बाहिरको हो भन्ने टिप्पणीबारे तपाईं के भन्नुहुन्छ ?
एमसीसीबारे सरकारले नै बहस खुला गरेको छ । अब यो विषयमा संसद्‌मा नै छलफल हुन्छ । यससम्बन्धी बहस तथा छलफलमा हाम्रो पार्टीले पनि भाग लिन्छ । यसपछि बाहिरिने कि नबाहिरिने भन्नेबारे निर्णय गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *