स्थानीय चुनाव: वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेसँगै आयोग तयारीमा जुटेको हो ।

एक/दुई दिनमा मस्यौदा अन्तिम टुङ्गो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने तयारीमा आयोग रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘विस्तृत कार्य योजनाअन्तर्गतको महत्त्वपूर्ण पाटो भनेको निर्वाचन कार्यक्रम हो,’ उनले मकालुखबरसँग भने, ‘निर्वाचन अधिकृत नियुक्ति, कार्यालय स्थापना, तालिम, उम्मेदवारी दर्ता, नाम फिर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्न वितरण, प्रचारप्रसार, मत गणना लगायतका कार्यलाई कार्य योजनाभित्र पर्छ ।’

स्थानीय तह निर्वाचन निर्देशिका निर्माणलाई अन्तिम रूप दिइरहेको उनको भनाई छ । उनकाअनुसार केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुनेछ । ‘वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ,’ उनले भने, ‘दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ  । यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ ।’

आयोगले मतदाताको विवरण भने तयार गरिसकेको छैन । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले मंगलबारदेखि नै मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । प्राप्त संकलित नामावली अद्यावधिकको काम समेत छिट्टै शुरु हुने प्रवक्ता पौडेलको भनाई छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराउने व्यवस्था छ । त्यसैअनुसार आयोगले संघीय मामिला मन्त्रालयमार्फत पत्राचार समेत गरिसकेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *