स्थानीय निर्वाचनका लागि आयोगले माग्यो भौतिक साधन

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी थालेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधन लगायत व्यवस्थापनका लागि स्थानीय तहसँग विवरण मागेको छ । सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले आवश्यक तयारी थालेको हो ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २४७ मा निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था अनुसार आयोगले मन्त्रालयमार्फत पत्राचार गरेको उल्लेख गरिएको छ ।

आयोगले स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघ मसान्तभित्र आवश्यक विवरण आयोगमा पठाउन भनेको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एकएक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन आयोगले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

त्यस्तै आयोगले २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरूको विवरण समेत खुलाउन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *