राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा प्रदेश सभा र स्थानीयतहका लागि छुट्टाछुट्टै मतदान केन्द्र

धनगढी । निर्वाचन आयोगले बुधबारदेखि हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । सुदूरपश्चिममा पनि निर्वाचनमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको हो । सहायक निर्वाचन अधिकृत प्रमे भट्टले मतदानका लागि सबै प्रक्रिया पूरा गरिएको बताए । विहान ९ देखि अपह्रान्न ३ बजेसम्म हुने मतदानका लागि प्रदेशका नौंवटै जिल्लाबाट मतदाताहरु धनगढी पुगिसकेका छन् ।

उनका अनुसार प्रदेश सभा परिसरमा हुने मतदानस्थलमा स्थानीय तह र प्रदेश सभाका सदस्यहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्र स्थापना गरिएको छ । प्रत्येक मतदान केन्द्रमा तीन/तीन वटा मतपेटिकाहरु रहने सहायक निर्वाचन अधिकृत भट्टले बताए । ‘स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेश सभा सदस्यका लागि अर्को मतदान केन्द्र बनाएका छौं,’ उनले भने, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ, मतदाताहरु धनगढी पुगिसकेका छन् ।’

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका तीन सदस्यका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र माओबादी केन्द्रले उम्मेदवार उठाएका छन् । सत्ता गठबन्धन दलहरुले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेका छन् भने एमाले एक्लै भिँड्दै छ । एमालेबाट खुला सदस्यका लागि डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष शर्मा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार छन् ।

यस्तै, गठबन्धनको तर्फबाट खुला सदस्यमा कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र, महिला सदस्यमा नेकपा एकीकृत समाजबादीकी सुदूरपश्चिम इन्चार्जसमेत रहेकी कैलालीकै मदनकुमारी शाह (गरिमा) र दलित सदस्यतर्फ माओबादी केन्द्रबाट डडेल्धुराका जगत पार्की उम्मेदार छन् । राष्ट्रि सभाको निर्वाचनमा प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरेर दुई सय २७ जना मतदाता छन् ।

प्रदेश सभाका ५२ मध्ये एकीकृत समाजबादीका १४, माओबादी केन्द्रका १३, कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीका एक/एक जना सदस्य छन् । जसमा सबैभन्दा बढी मतभार एकीकृत समाजबादीको ६७२ छ भने माओबादी केन्द्रको ६२४ छ । यस्तै, नेकपा एमालेको ५२८ र राजपा र लोसपाको ४८/४८ मतभार छ ।

यसैगरि स्थानीय तहका १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओबादी केन्द्रका १७ र एकीकृृत समाजबादीका १३ जना छन् । जसमा कांग्रेसको मतभार एक हजार ३३२, एमालेको एक हजार २७८, माओबादी केन्द्रको तीन सय २६ र एकीकृत समाजबादीको दुई सय ३४ छ ।

स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा कांग्रेसको जम्मा मतभार एक हजार ९०८ हुन्छ । त्यस्तै एमालेको एक हजार ८०४ छ भने माओबादी केन्द्रको ९२७ र एकीकृत समाजबादीको ९०६ मतभार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *