कोभिड : सामान्य लक्षणमात्र देखिए घरमै यसरी गर्न सकिन्छ हेरचाह

दीर्घरोगी र नियमित औषधि खानुपर्नेलाई भने घरमै आराम गर्नु खतरनाक

काठमाडाैँ । जब कोही कोरोनाभाइरसबाट संक्रमित हुन्छ, अब उसले के गर्नुपर्छ ? यसमा अझै पनि धेरै मानिसलाई दुबिधा हुनसक्छ । जसलाई कोभिड पोजेटिभ देखिएको छ, ऊ तुरुन्तै अस्पताल जानुपर्ने र औषधि खानुपर्ने अवस्था नरहने मायो क्लिनिककी चिकित्सक मेलानी स्विफ्ट बताउँछिन् । उनकाअनुसार यदि कोही युवा अथवा कुनै जटिल स्वास्थ्य समस्या नभएको व्यक्ति संक्रमित हुन्छ र सामान्य लक्षणहरू मात्र देखिएको छ भने घरमै बसेर हेरचाह गर्दा कोभिड छिटो निको हुन्छ । धेरै औषधि सेवन आवश्यक छैन ।

संक्रमित व्यक्ति घरमा कसरी बस्ने त ? स्विफ्ट भन्छिन्, ‘मुख्य कुरा त आराम गर्नु नै हो । त्यसबाहेक शरीरमा तरल पदार्थ प्रशस्त हुनुपर्ने अर्थात् शरीरलाई हाइड्रेड राख्नुपर्छ । यदी ज्वरो आएमा कम गर्ने सामान्य औषधि खान सकिन्छ ।’

घरमा बस्दा चिकित्सकको सल्लाह लिन र लक्षणहरूमा कसरी परिवर्तन आइरहेको छ भन्नेबारे विशेष ध्यान पुर्‍याउँदा स्विफ्टको सल्लाह छ । यस्ता लक्षणहरूमा  श्वासप्रश्वासमा समस्या देखापर्नु पहिलो लक्षण हो । यदि श्वास फेर्न गाह्रो भएको महसुस हुन्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ र त्यहीअनुसारको औषधि लिनुपर्छ । तर छातीमा दबाब भयो, छाती धेरै दुख्ने भयो भने पनि घरमा बसेर हुँदैन अस्पताल जानुपर्छ । यदि आफू लामो समयसम्म निको भएको छु वा छैन भनेर दोधारमा परियो भने पनि चिकित्सकको सल्लाह आवश्यक पर्छ ।

अक्सिजनको मात्रा घट्दै गएको जस्तो लागेमा अस्पताल जानुपर्छ । छाला र ओठ फिक्का र निलो रङको देखिन थालेमा शरीरमा अकि्सजनको मात्रा कम भएको पत्ता लाग्छ । यसलाई बिरामी स्वयम्‌ले मात्र नभई अरु व्यक्तिले पनि ख्याल गर्न सक्छन् । त्यस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । यसलाई आपत्‌कालीन उपचार आवश्यकताको अवस्था भनिन्छ ।

सधैँकाे लागि स्वास्थ्य परामर्शदाता वा डाक्टर राखेको व्यक्ति संक्रमित भएमा त धेरै सजिलो हुन्छ । घरमै बसेर आफ्नो चिकित्सकको परामर्शअनुसारको औषधि सेवन गर्न सकिन्छ ।

घरैमा बस्दा पनि आफ्नो नियमित हेरचाह गर्ने, आफ्नो नजिकै रहने प्रत्येक व्यक्तिलाई कोरोनाको रिपोर्टबारे स्पष्ट जानकारी भने गराउनुपर्छ । चिकित्सकलाई बिरामीले सबै कुरा खुलेर भन्नुपर्छ । कतिपय समस्याहरू बिरामीले बताएसम्म थाहा नहुने खालका हुन्छन् । अवस्था सामान्य छ भने घरमै बस्नु सबैभन्दा उचित हुन्छ । घरमा हेरचाह, खानेकुरा र आरामको उत्तम विकल्पहरू हुन्छन् । अस्पतालमा ती सबै सुविधाहरू प्राप्त गर्न सजिलो हुँदैन । त्यस्तै शरीरलाई सुख्खा हुन नदिन वा तरल पदार्थको मात्रा घट्न नदिन पनि घर सबैभन्दा उपयुक्त ठाउँ हो ।

चिकित्सकले भनेको बाहेक औषधि सेवनको तालिका पछ्याएर घरमै बसेर कोभिडमुक्त हुन सकिन्छ । तर भुल्न नहुने कुरा के हो भने कोभिड बाहेक नै अरु दीर्घरोगहरु छन् र त्यसको नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ भने त्यस्ता संक्रमितको लागि घरमा आराम गर्नु खतरा हुन सक्छ । त्यसैले दीर्घरोगीले भने चिकित्सकको सल्लाहअनुसार अस्पतालमा नै उपचार गराउनु सुरक्षित हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *