सहकारीलाई काम गर्न ऐन बाधक

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडाले सहकारीलाई काम गर्नको लागि सहकारी ऐन वाधक रहेको बताएका छन् । जिल्ला सहकारी संघ मोरङको २९औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै खतिवडाले आफूले ऐन संसोधनको लागि पहल गरिरहेको जानकारी दिए । आफूले सहकारी ऐन संशोधनको लागि पहल गर्दा गर्दै पनि काम नभएकोले जिल्ला सहकारी संघहरुले पनि पहल गर्नुपर्ने बताए ।

सहकारी ऐन २०७४ कार्यान्वयनका लागि ४७ वटा सहकारी ऐन बाधक रहेको खतिवडाको भनाई छ । उनले ४७ वटा सहकारी ऐन संसोधन गरे सहकारीका बाधाहरु केहीहदसम्म हट्ने बताए । संसदीय समितिभित्र कृषि, सहकारी तथा प्राकृतिक समितिको सदस्य र सहकारी हेर्ने उपसमितिको संयोजक समेत रहेका खतिवडाले सहकारीहरु व्यक्ति केन्द्रित नभई सामाज केन्द्रित हुनुपर्ने बताए । सहकारी अभियान्ताहरुले बचत तथा ऋण सहकारीले मात्र गरिबी न्युनिकरण नहुने बताएका छन् ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले बचत गर्न मात्र नभई संस्कार सिकाउनु पर्ने बताए । विपन्न वर्गका लागि सहकारी साहारा भएको दाबी गरेका यादवले सहकारी मार्फत जीवन परिवर्तन खोज्नु पर्ने बताए । सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून भएको उनको भनाई छ । सहसहकारी भित्र भागिता र नेतृत्वमा तालमेल नमिलेको मन्त्री यादवको दाबी छ । उनले महिलाको सहभागिताको आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई आग्रह गरे ।

संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाकार तारादेवी राईले सहकारीलाई उत्पादनसँग जोड्न र उद्योगधन्दा सञ्चालन गर्नका लागि ऐन बाधक भएको बताइन् । सहकारीलाई उद्योगसँग जोड्र ऐन संशोधन गर्न सुझाव दिइन् । राष्टिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले राज्यले सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बा मानेकाले सहकारी ऐन संसोधन गरेर सहकारीलाई काम गर्न दिनुपर्नेमा जोड दिए ।

सहकारी सहभागिता, बचत र सामाजिक विकासको हिसाबले अगाडि बढीसकेकाले अब सहकारी मार्फत रोजगारी सिर्जना गर्ने र विदेशीएका युवाहरुलाई स्वदेशमा नै रोजगारी दिलाउन सक्नुमा सहकारी अभियानकर्मीको जोड छ । सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले संघको वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।

जिल्ला सहकारी संघको शेयर ३० लाख ७९ हजार ५ सय रुपैया रहेको छ । संघले जगेडा कोष, शेयर लाभांस कोष, संरक्षित पुँजी फीर्ता कोष, कर्मचारी बोनस कोष, सहकारी शिक्षा कोष, सहकारी विकास कोष, घाटा पुर्ति कोष, भवन निर्माण कोष, सहकारी प्रवद्र्धन कोष र बाँकी संचित मुनाफा कोष सञ्चालन गरेको छ ।

संघको तरलता कोष बचतमा ३२ लाख ७० हजार ८८७ रुपैया र नियमित मासिक बचतमा ९२ लाख ५३ हजार ७८६ रुपैया गरी १ करोड २५ लाख २४ हजार निक्षेप रहेको छ । संघले भवन किन्दा लिएको २० लाख ऋण बहुउदेश्यीय सहकारी संघलाई तिर्नुपर्ने उल्लेख छ । जिल्ला संघले १० लाख धितोमा ऋण लगानी गरेको छ भने १ करोड ७५ लाख ५ हजार ९ सय ७५ रुपैया तरलता ऋण लगानी गरेको छ । ३ लाख ६३ हजार ९२८ रुपैया छोटो अवधि कर्जा लगानी गरेको छ । संघले १० प्रतिशत व्याजमा ऋण लगानी गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =