यसपालि पाँच वर्ष यताकै कम धान उत्पादन (पूर्णपाठसहित)

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्ष यताकै सबैभन्दा कम धान उत्पादन भएको जानकारी दिएको छ । प्रमुख धानबालीको रुपमा रहेको धान, आर्थिक वर्ष २०७७/७८ को तुलनामा ८ प्रतिशत ७४ प्रतिशतले कमी आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जससँगै यस वर्ष कुल ५१ लाख ३० हजार मेट्रिक टन धान नेपालका खेतीयोग्य जमिनमा उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष करिब ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान उत्पादन भएको थियो ।

साबिकका वर्षका तुलनामा यस वर्ष करिब चार हजार हेक्टर थप क्षेत्रफलमा धान रोपाइ भएको थियो । तर, उत्पादकत्वका हिसाबमा भने चालु आर्थिक वर्षमा तीन दशमलव ४७ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको अनुमान गरिएको छ ।

हावाहुरी तथा अप्रत्याशित वर्षा प्रमुख कारण

गत असोज ३१ देखि कार्त्तिक ३ गतेसम्म मुलुक भर परेको हावाहुरी सहितको अप्रत्याशित वर्षाको कारण धानबालीमा क्षति पुगेको मन्त्रालयको भनाइ छ । जसकारण उत्पादकत्वमा ह्रास आयो ।

विशेषतः सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने समयमा परेको वर्षा तथा हावाहुरीले समग्र राष्ट्रिय स्तरको धान उत्पादनमा कमी ल्याएको हो ।

प्रदेश स्तरमा भने गण्डकी प्रदेश बाहेकका अन्य प्रदेशमा साबिकका वर्षहरूमा भन्दा धान उत्पादनमा कमी आयो । सुदूरपश्चिम ३१ दशमलव ४९ र लुम्बिनी प्रदेशमा १८ दशमलव ३८ प्रतिशतले उच्च गिरावट आएको छ ।

चैत धानमा भने शून्य दशमलव ३२ प्रतिशतले वृद्धि

यता चैत धानमा गत आ.व.को तुलनामा शून्य दशमलव ३२ प्रतिशतले धान वृद्धि भई  चार दशमलव ६४ मेट्रिक टन प्रति धान उत्पादन भएको छ । नेपालमा अन्दाजी १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *