लम्बिँदो खडेरीमा केन्यालीको चित्कार- हामी सबै मर्नेछौँ, हाम्रा चौपाया मर्नेछन्

वाजिर काउन्टी, केन्या । कुनै बीभत्स परेडमा जस्तो उत्तरी केन्याको वाजिर काउन्टी जाने धुलाम्मे सडकका दुवैतिर चौपायाका अस्थिपञ्जर थुप्रिएका छन् । केन्यामा लम्बिँदो खडेरीका कारण भुंग्रोजस्तो तातो घाममा कुहिएका जनावरहरूको बीभत्स दृश्य देख्न सकिन्छ । बढ्दो खडेरीले गर्दा पशु चौपाया चराउने समुदायले धेरै ठूलो सास्ती भोग्नुपरेको छ ।

‘मेरो ७२ वर्षको जीवनमा यस्तो अत्यासलाग्दो अवस्था मैले कहिल्यै देखेको थिइनँ’, बियामादो क्षेत्रका बासिन्दा इब्राहिम आदोले सुनाए ।

तीन महिनाअघि (सेप्टेम्बर)बाट केन्याको उत्तरी क्षेत्रमा औसतभन्दा ३० प्रतिशत कम पानी परेको छ । यो पछिल्ला दशकहरूकै सबैभन्दा छोटो समयको झरी भएको फेमाइन अर्ली वार्निङ सिस्टम्स नेटवर्कले उल्लेख गरेको छ । पानी कम परेपछि जनावरहरू चराउन प्रयोग गरिने क्षेत्र मासिँदै गएका छन् । खाद्य पदार्थ र पानीको अभाव झन् झेल्नुपरेको छ । आदो आफैँले आफ्ना आधा चौपाया गुमाएका छन् । गाईहरू अत्यन्त कमजोर भएका कारण दूध दुहुनका लागि पनि दयनीय अवस्था छ । बेच्नका लागि पनि कमजोर भइसकेपछि तिनीहरूलाई कसैले किन्न नचाहेको उनी बताउँछन् ।

‘कोही किन्न चाहँदैनन्’, एक पाका गाउँले आफ्नो दाह्री कन्याउँदै सुनाए । आदोका अनुसार चार महिनायता ३५७ अमेरिकी डलर पर्ने गाईको मूल्य ४५ डलरमा झरेको छ । सधैँ यस्तो हुँदैन थियो । आदोजस्ता स्थानीयहरू खडेरीसँग जुध्दै आएका थिए ।

यो वर्षको अन्तसम्ममा पनि अझै पानी परेन भने सन् २०२० को डिसेम्बरदेखिकै यो तेस्रो अल्पवृष्टि हुने विज्ञहरू बताउँछन् । त्यहिबेलै (सन् २०२० डिसेम्बर)बाटै यहाँ खडेरी सुरु भएको हो । त्यसको तीन वर्षअघि यस्तै खडेरी थियो । ‘दिनदिनै धेरै लामो समयसम्म खडेरी परिरहनु र त्यसको सामना गरिरहनु यहाँको दैनिकीजस्तै भइसक्यो ।’, केन्याका खडेरी व्यवस्थापन प्राधिकरणका निर्देशक जेम्स ओडुरले भने ।

पानीको पर्खाइ
गतवर्ष संयुक्त राष्ट्रसंघले केन्याका २४ लाख नागरिकले सुख्खा र आंशिक सुख्खापनका कारण नोभेम्बरयता खानका लागि दिन प्रतिदिन संघर्ष गरिरहनुपरेको छ । केन्याको खाद्य संकटको समस्यामा पर्नेमध्येकै एक सदस्य हुन् जेनाब क्यूल । २५ वर्षकी उनी सुत्केरी भएको ६ महिना भयो । पछिल्ला चार महिनामा उनी आफैँ र उनका एक/दुई वर्षका छोरालाई उनले खुवाउने खाना भनेको मकैमात्रै हो ।

उनका दुई छोराहरू झाडापाखालाबाट पीडित छन् । पाँच वर्षमुनिका बच्चाहरूमा यसो हुनु भनेको कुपोषणका पाँच लक्षणहरूमध्येकै एक लक्षण हो । छोराहरू झाडापखालाले ग्रसित हुँदै गएकाले आफ्नो कान्छो छोराको रुघाखोकीसँग लड्ने क्षमता पनि सकिइसकेको क्युल बताउँछिन् ।

उनी आफैँ पनि पानीको कमीका कारण हुने डिहाइड्रेसनका कारण आफ्नो मुटुको धड्कन चाँडो चाँडो चलेको बताउँछिन् । ‘मेरो एकमात्रै आशा भनेकै पानी हो’, उनी भन्छिन् । ४ लाख ६५ हजार बालबच्चाहरू र ९३ हजार गर्भवती तथा स्तनपान गराउने आमाहरू उत्तरी केन्या क्षेत्रमा अत्यधिक रूपमा कुपोषित छन् ।

परम्परागत रूपमा केन्याका महिलाहरू आफैँले पानी जोहो गर्ने जिम्मेवारी लिनुपर्छ । त्यसका लागि पानी नपर्दा घण्टौँ समय खेर जाने वाजिर काउन्टीका स्वास्थ्य निर्देशक सोमो दाहिर बताउँछन् । केन्याको खडेरी व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गतअक्टोबरबाट उत्तरी केन्यामा पानी लिन जाने औसत दूरी १४ किलोमिटर छ ।

आमाहरू लामो समयसम्म घर बाहिर हुने हुँदा बच्चाहरूले पर्याप्त मात्रमा स्तनपान गर्न पाउँदैनन् । यसले उनीहरूको हुर्काइमा नकारात्मक असर गर्छ । खडेरीमा चौपाया गुमाएका परिवारका बच्चाहरूमा झन् धेरै यस्तो समस्या हुने गर्छ । यसका साथै, मकैको मात्रै आहार हुँदा दुग्ध उत्पादन घट्ने र कम पोसिलो हुने हुन्छ ।

‘पछिल्लो तीन वर्षयता तीव्रोत्तर रूपमा गर्भवती तथा स्तनपान गराउने महिला र बालबालिकाहरू विभिन्न रोगहरूले ग्रस्त हुँदै गएको र उनीहरूमा मध्यमस्तरको कुपोषणका लक्षणहरू देखिन थालेका छन् ।’, खडेरी झन् बढेका स्वास्थ्य सेवाविहीन वाजिर क्षेत्रका दुई सय बस्तीमा पुग्न झनै चर्को मूल्य चुकाउनुपर्ने दाहिर बताउँछन् ।

छोटो बाटो छैन
विश्व भूगर्भ संस्था (डब्लुएमओ)का अनुसार सन् २०२० अफ्रिका अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हो । आँकडाहरूले सन् २०५० सम्ममा अफ्रिकाको तापमान २.५ डिग्री सेल्सियसले बढ्नेछ । विज्ञहरू तापमान बढेसँगै खराब मौसमी घटनाहरू घट्ने बताउँछन् । तातो वायुमण्डलले बढी सापेक्षिक आर्द्रता भेला पार्छ‚ जसका कारण धेरै पानी पर्ने सम्भावना रहन्छ ।

उत्तरी केन्यामा देखिएको खडेरीको कारण जलवायु परिवर्तन भएको केन्याको खडेरी व्यवस्थापन प्राधिकरणका निर्देशक जेम्स ओडुर बताउँछन् । बाँकी कारणहरूमा जनसङ्ख्या वृद्धि, जमिनको भू बनोटको बदलाव, बस्ती विस्तारका कारणले पनि खडेरी बढाएको उनी बताउँछन् । ‘आंशिक सुख्खा क्षेत्रहरूमा कसैले नओगटेको विशाल क्षेत्रहरू हुन्थे‚ जहाँ चौपाया चराउने समुदाय हिँडडुल गर्न पाउँथे । अब त्यो हिँडडुल गर्ने अवस्था छैन । अहिले सानो क्षेत्रमा ठूला समुदायहरू बढिरहेका छन्’, उनी भन्छन् ।

प्राकृतिक श्रोतको अभावले स्थानीय समुदायमा प्रत्यक्ष असर पारेको छ । चरन क्षेत्रको नियन्त्रणका नाममा तनाव बढ्दो छ भन मूल्य दिनानुदिन बढिरहेको छ । घरका लागि पिउने पानी खोज्नैका लागि विद्यार्थीहरू विद्यालय छाड्न विवश छन् ।

यस्तो अवस्थाबाट पार पाउनका लागि धेरै समय लाग्ने, महँगा दिगो विकासका परियोजनाहरूबाट मात्रै यस्तो किसिमको खडेरी कम हुने ओडुर बताउँछन् । ‘खडेरीको समस्या पूर्णरुपमा समाधान गर्न असम्भव प्रायः छ तर मान्छेलाई यसलाई सामना गर्दै अघि बढ्ने बनाउन सकिन्छ’, उनी भन्छन् ।

यसका लागि पानी तथा स्वास्थ्यका थप पूर्वाधार विकास गर्नुपर्ने, दिगो जीवनयापनका क्षेत्रमा लगानी गर्नुपर्ने, चौपाया बाहेकका क्षेत्रबाट समेत परिवारको आम्दानीका लागि आयस्रोतका अवसर बढाउनुपर्ने उनको तर्क छ । ‘यदि यस किसिमको अवस्थालाई मध्यनजर गर्दै यसबाट बच्न सकिने उपायका बारेमा सोचिएको थियो भने हामी यस्तो किसिमको समस्यामा पर्ने नै थिएनौँ’, उनी भन्छन् ।

उता वाजिर क्षेत्रका स्थानीयहरूको दिमागमा अहिले एउटै प्रश्न हरक्षण घुमिरहेको छ‚ त्यो हो- पानी कहिले पर्छ ? ‘परिणाम राम्रो देखिने छाँटकाँट छैन’, फिल्ड साइन्टिस्ट तथा क्लाइमेट हजार्ड्स सेन्टर्सका गिदोन गालु भन्छन् । पूर्वी अफ्रिकाको झरी पार्ने हिन्द महासागर र प्रशान्त महासागरको क्षेत्रको जलवायु प्रणाली अनुकूल नभएको गालु बताउँछन् । उनले भनेजस्तै यस्तै अवस्था रहिरहे आगामी मार्चदेखि मेसम्म झरी नपर्ने देखिन्छ‚ जसले अझ खडेरीको चौतर्फी असर पार्नेछ ।

बियामाडोबाट करिब आधा घण्टाको दूरीमा रहेको बेनानी गाउँमा आदेन गिधायेस र उनका परिवारलाई भोलिको खानपिनको बारेमा अघिल्लै दिन जानकारी छ । त्यो हो- बिहान बच्चाहरूलाई मकै र साँझमा चौपायालाई मकै । आफ्ना हातका पाँच औँला देखाएर बाँचेका चौपायाको सङ्ख्या गन्दै गिधायेस भन्छन् ‘यदि पानी परेन भने हाम्रा चौपायाहरू मर्दै जानेछन्‚ त्यसपछि हामी सबै मर्नेछौँ ।’

अलजजिराबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =