श्रम अडिट के हो ?

श्रम अडिट रोजगारदाताका रोजगारीसँग सम्बन्धित नीति नियम र अभ्यासहरू कानूनसम्मत छन् वा छैनन् भनी जाँच्ने एउटा कानूनी साधन हो । यो एउटा महत्त्वपूर्ण अभ्यास हो जसमा मुलुकको श्रम सम्बन्धी कानूनलाई रोजगारदाता र श्रमिकले कसरी पालन गरिरहेका छन्  भनेर मिहिन तरिकाले हेरिन्छ ।

के श्रम अडिट बाध्यकारी व्यवस्था हो ?

हो।  श्रम ऐन, २०७४ को दफा १०० एवम् श्रम नियमावली, २०७५ को नियम ५६ बमोजिम, श्रम अडिट हरेक रोजगारदाताले पालन गर्नैपर्ने एक बाध्यकारी कानूनी व्यवस्था हो ।

श्रम अडिट कसले गराउनुपर्दछ ?

नेपालमा सञ्चालित नाफा कमाउने वा गैरनाफामूलक स्थानीय, राष्ट्रिय, स्वदेशी,  विदेशी, बहुराष्ट्रिय र अन्तर्राष्ट्रिय सबै संघ, संस्था, कम्पनी, फर्म, निकाय जसले आफ्नो कार्य सञ्चालनका लागि कर्मचारी नियुक्त गर्दछन् (श्रम ऐन अनुसार प्रतिष्ठानको परिभाषामा परेका) ती सबैले श्रम अडिट गराउनुपर्दछ।

जहाँ रोजगारदाता र कर्मचारीको सम्बन्ध छ त्यहाँ अन्य कुनै नेपाल कानून लागु हुने भएमा बाहेक श्रम ऐन लागु हुन्छ र त्यहाँ श्रम अडिट बाध्यकारी व्यवस्था हुन जान्छ।

श्रम अडिटको उद्देश्य के हो ?

कार्यस्थलमा विद्यमान कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी असल औद्योगिक सम्बन्ध कायम राखी श्रमिकको हकहित सुनिश्चित गराएर समग्रमा उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सघाउ पुर्‍याउनु नै श्रम अडिटको मूख्य उद्देश्य हो । यसका साथै श्रम अडिटका अन्य उद्देश्यहरू निम्न बमोजिम छन् –

(क) श्रम सम्बन्धी नीतिगत एवम् कानूनी व्यवस्थाको परिपालनाको स्तर बढाउने,

(ख) श्रमिकहरूको गुनासो कम गराई प्रतिष्ठान प्रति उनीहरूको अपनत्व बढाउने,

(ग) सरकारको अनुगमन, नियमन र निरीक्षणको भार कम गर्ने,

(घ) प्रतिष्ठान स्वयंलाई नीतिगत एवम् कानूनी व्यवस्था कार्यान्वयन गराउन जिम्मेवार र जबाफदेही बनाउने ।

श्रम अडिटका फाइदा के के छन् ?

श्रम अडिटका विविध फाइदा छन् । यो रोजगारदाता, श्रमिक र सरकार सबैका लागि हितकर छ। केही फाइदाहरू यस प्रकार छन्-

रोजगारदातालाई हुने फाइदाहरू

उत्पादकत्वमा वृद्धि, उत्पादनमा वृद्धि, नाफामा वृद्धि ।

– सरकारबाट राम्रो पहिचान ।

– समयमा गरिने भुक्तानीले श्रमिकको गयल हुने प्रवृत्ति घटाउने ।

– रोजगारदाताबाट नियमकानूनको कडा अनुपालन हुने हुँदा सरकारबाट हुनसक्ने दण्ड जरिवाना क्षतिपूर्ति तिर्नुपर्ने अवस्था नआउने वा अत्यन्तै कम हुने।

– श्रमिकहरूसँग सुदृढ श्रम सम्बन्ध, सहकार्य र समझदारी हुने कारणले कर्पोरेट सुशासनका लागि अनुकूल वातावरण हुने।

श्रमिकलाई हुने फाइदाहरू 

– श्रमिकको सामाजिक सुरक्षामा अभिवृद्धि

– श्रमिकहरूको समयमा ज्याला, उपदान, बोनस, ओभरटाइम र क्षतिपूर्ति भुक्तानी हुने।

– रोजगारदाताबाट प्राप्त हुने सुविधाहरूको कारणले श्रमिकको काम छोड्ने वा अनुपस्थित रहने अवस्था नहुने।

– समयमा हुने भुक्तानीले वित्तीय असुरक्षा कम हुने।

– श्रमिकहरूसँग सुदृढ श्रम सम्बन्ध, सहकार्य र समझदारी हुने कारणले कर्पोरेट सुशासनका लागि अनुकूल वातावरण हुने।

सरकारलाई हुने फाइदाहरू 

– प्रतिष्ठान निरीक्षण खर्चमा कटौती ।

– राज्यमा कानूनको अनुपालनमा वृद्धि हुने।

– कानूनको परिपालनामा वृद्धि हुँदा राज्यको आयमा वृद्धि हुने।

– श्रम कानुनको परिपालना बढ्दा अन्तर्राष्ट्रिय जगतमा मुलुकको शाखामा पनि वृद्धि हुने।

श्रम अडिटका क्षेत्राधिकार के के हुन् ?

श्रम अडिटको क्षेत्राधिकार भनेको रोजगारदाताबाट निम्नानुसारका नियम, कानुन र व्यवस्था पालन भए नभएको जाँच्नुहोस्

  • श्रम ऐन, २०७४ एवम्  श्रम नियमावली, २०७५
  • योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ एवम् नियमावली २०७५
  • बोनस ऐन २०३०, बोनस नियमावली २०३९
  • ट्रेड युनियन ऐन २०४९,  ट्रेड युनियन नियमावली २०५०
  • श्रम नियमावली, २०७५ को अनुसूची – १० मा उल्लेखित  अनिवार्य विषयहरू
  • रोजगारदाताका कर्मचारी विनियमावली
  • श्रम अडिट गर्दा देखिएका अन्य आवश्यक विषयवस्तुहरू

श्रम अडिटका लागि को जिम्मेवार हुन्छ ?

श्रम अडिटका लागि प्रतिष्ठान प्रमुखको जिम्मेवारी हुन्छ।

श्रम अडिटका लागि रोजगारदाताको जिम्मेवारी के के हुन् ?

श्रम अडिटका लागि रोजगारदाताका जिम्मेवारी निम्नानुसार हुन्छन्-

क) प्रतिष्ठानको सत्य जानकारी र विवरण उपलब्ध गराउने।

ख) श्रम अडिटरलाई पारिश्रमिक तथा अन्य सुविधा दिने ।

ग) आवश्यक अन्य सहायता प्रदान गर्ने ।

घ) सम्बन्धित नियामक निकायमा श्रम अडिट प्रतिवेदन पेस गर्ने।

श्रम अडिटरका जिम्मेवारी के के हुन् ?

श्रम अडिटका लागि श्रम अडिटरका निम्नानुसारका जिम्मेवारी हुन्छन्

क) सच्चा विवरण (तथ्य) अनुसारको प्रतिवेदन तयार पार्ने।

ख) तोकिएको समयसीमाभित्र अडिट प्रतिवेदन तयार पार्ने।

ग) अडिटका बखत प्राप्त हुन आएका गोप्य सूचनाहरू कसैलाई पनि व्यक्त नगर्ने।

श्रम अडिट नगरेमा के हुन्छ ?

श्रम अडिट नगरेमा प्रतिष्ठान प्रमुख व्यक्तिगत रूपमा र प्रतिष्ठान संस्थागत रूपमा समेत कानून बमोजिम सजायको भागिदार हुन्छ।

श्रम अडिट कसले गर्न सक्छ ?

आन्तरिक : प्रतिष्ठानले तोकेको कुनै पनि अधिकृत तहको कर्मचारीले श्रम अडिट गर्न सक्नेछ।

वाह्य :  कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी व्यवस्थापकीय तहमा दुई वर्षको कार्यानुभव भएको नेपाली नागरिक कुनै पनि प्रतिष्ठानको श्रम अडिट गर्न योग्य मानिन्छ।

श्रम अडिट कहिले गर्नुपर्छ ?

हरेक आर्थिक वर्ष समाप्त भएको मितिदेखि पौष मसान्तभित्र श्रम अडिट गरिसक्नुपर्दछ।

श्रम अडिट गर्ने कार्यविधि के हो ?

सामान्यतया श्रम अडिट गर्ने विधि यस प्रकार छः

क) प्रतिष्ठानले श्रम अडिटर नियुक्त गर्ने।

ख) प्रतिष्ठानले तल प्रश्न नं. १७ अनुसारको कागजात एक फोल्डरमा श्रम अडिटरले जाँच गर्नका लागि तयार पारेर राख्ने।

ग) प्रतिष्ठानको कुनै अधिकृत वा व्यवस्थापकीय श्रेणीको कर्मचारीले अनुसूची (१) बमोजिमको श्रम अडिट प्रतिवेदन फाराम भरेर प्रतिष्ठान प्रमुखबाट प्रमाणित गराएर श्रम अडिटरको परीक्षणका लागि पेस गर्ने।

घ) श्रम अडिटरले प्रतिष्ठानको कार्यस्थलमा गई श्रम अडिट प्रतिवेदन र संलग्न कागजातहरूको जाँच गर्नुका साथै तिनको सत्यता परीक्षण गर्ने।

ङ) श्रम अडिटरले आवश्यकताअनुसार प्राप्त सूचना तथा जानकारीहरू एवम् उनीहरूको श्रम अभ्यासका बारेमा प्रतिष्ठानका कार्मचारीसँग  छड्के जाँच गर्ने।

च) श्रम अडिटरले प्राप्त कागजात  र जानकारीहरू परीक्षण गरेर, कर्मचारीहरूसँग अन्तरवार्तासमेत गरी  श्रम अडिट प्रतिवेदन तयार पार्ने।

छ) प्रतिष्ठानले उक्त श्रम अडिट प्रतिवेदन फाराम, श्रम अडिटरले तयार पारेको श्रम अडिट प्रतिवेदन नियामक निकायलाई पत्र लेखी पेस गर्ने र पछि जुनसुकै बखतमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट खटिई आउने श्रम निरीक्षकले जाँच गर्दा देखाउनका लागि ती सबै कागजात सुरक्षित राख्ने।

ज) प्रतिष्ठानले नियामक निकायमा श्रम अडिट प्रतिवेदन पेस गरेको दर्ता कागज लिई सुरक्षित राख्ने।

झ) सरकारी अधिकारीहरूले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट नियमित जाँच हुँदा जुनसुकै बखत पनि प्रतिष्ठानमा आइ उक्त प्रतिवेदन र श्रम अडिटसँग सम्बन्धित कागजातहरू जाँच गर्न सक्नेछन्।

वाह्य श्रम अडिटर नियुक्त गर्नुका फाइदा के हुन् ?

श्रम अडिटका लागि वाह्य श्रम अडिटर नियुक्त गर्नाले  विभिन्न फाइदा हुन्छ। ती मध्ये केही यस प्रकार छन्

क) बिना कुनै प्रभाव साँचो र निष्पक्ष परीक्षण हुने।

ख) कुनै समस्या भए त्यसलाई सुधार गर्ने मौका मिल्ने।

ग) रोजगारदाता र श्रमिकबिच राम्रो समझदारी र विश्वसनीय सम्बन्ध स्थापित हुने।

घ) प्रतिष्ठानको श्रमिक परिचालन गर्ने आत्मविश्वास बढ्ने।

ङ) प्रतिष्ठानको सार्वजनिक प्रतिष्ठामा बढोत्तरी हुने।

च) श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग पछि झमेला नहुने।

श्रम अडिट गर्न कति समय लाग्छ ?

श्रम अडिट पुरा गर्नका लागि प्रतिष्ठानको आकार प्रकार हेरेर दुई दिन देखि दुई महिनासम्मको समय लाग्न सक्दछ।

श्रम अडिट गर्न कति खर्च लाग्छ ?

यो अवस्थाअनुसार फरक फरक र श्रम अडिटर र प्रतिष्ठानको आपसी समझदारी अनुसार हुन्छ।

श्रम अडिट गर्न के के कागजात चाहिन्छ ?

माथि उल्लेख गरिए बमोजिम प्रतिष्ठानको सत्य विवरण जाँच गर्नका लागि श्रम अडिटरले निम्नानुसारका कागज प्रमाणहरू जाँच्नुका साथमा प्रतिष्ठानको प्रमुख र केही छानिएका कर्मचारीसँग सोधपुछ पनि गर्नुपर्ने हुन्छ।

क) नियामक निकायमा पेस गरे बमोजिमको हालैको वार्षिक प्रगति प्रतिवेदन

ख) आन्तरिक राजश्व कार्यालयमा पेस गरे बमोजिमको हालैको वार्षिक लेखापरीक्षण प्रतिवेदन

ग) सम्पूर्ण कर्मचारीहरूको तलब भुक्तान फाँटवारी

घ) सञ्चय कोष, उपदान रकम जम्मा गरेको फाँटवारी तथा भौचरहरू

ङ) बिदाबापत गरिएको भुक्तानी विवरण

च) सम्पूर्ण कर्मचारी र बाह्य सेवा प्रदायकसँगको करार, नियुक्ति पत्र

छ) प्रतिष्ठान छोडी जाने कर्मचारीलाई दिइएको अनुभवको प्रमाणपत्र

ज) श्रमिक आपूर्तिकर्तासँग गरिएको सम्झौता (जस्तैः सुरक्षा गार्ड, ड्राइभर, इत्यादिका लागि) यदि आपूर्तिकर्तामार्फत यस्ता पदपूर्ति गरिएको छ भने।
झ) श्रमिक आपूर्तिकर्ताको दर्ता प्रमाणपत्र, नवीकरण, श्रम अडिट प्रतिवेदन

ञ) प्रतिष्ठानको स्वीकृत कर्मचारी बिनियमावली

ट) वीमा प्रदायक सम्पनीसँग गरिएको कर्मचारी दुर्घटना बीमा र औषधोपचार बीमा

ठ) अगैसस भए, समाज कल्याण परिषद्सँग भएको साधारण सम्झौता

ड) अगैसस भए, समाज कल्याण परिषद्सँग भएको परियोजना सम्झौता

ढ) विदेशी कामदारको श्रम स्वीकृति

ण) विदेशी कामदारको गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा)

त) स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र

थ) हालको करचुक्ता प्रमाणपत्र

द) करछुट हुने संस्था भए करछुटको नवीकृत प्रमाणपत्र, भएमा

ध) कर्मचारीलाई सचेत गराइएको पत्र, भएमा

न) सामूहिक सौदाबाजीको कागज, भएमा

ऩ) कर्मचारीको उजुरी, भएमा

प) श्रम सम्बन्ध समिति (ट्रेड युनियन) को विवरण र बैठकका निर्णयहरू

फ) स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षा समितिको विवरण र बैठकका निर्णयहरू

ब) श्रम विभाग कार्यालयमा आफ्नो कर्मचारी बिनियमावली दर्ता गराएको प्रमाण

भ) अघिल्लो वर्षको श्रम अडिट प्रतिवेदन नियामक निकायमा बुझाएको प्रमाण

म) श्रम अडिट गर्ने क्रममा आवश्यक देखिएका अन्य कुराहरू

श्रम अडिट प्रतिवेदन कहाँ बुझाउनुपर्छ ?

प्रतिष्ठानले श्रम अडिट आफ्नो नियामक निकायमा बुझाउनुपर्ने हुन्छ । जस्तै प्रतिष्ठानले जुन निकायबाट आफ्नो कार्य गर्ने अनुमति प्राप्त गरेको हुन्छ वा आफ्नो मूल दर्ता प्रमाणपत्र जहाँबाट प्राप्त गरेको हुन्छ सोही निकायमा श्रम अडिट प्रतिवेदन बुझाउनुपर्दछ। उदाहरणका लागिः

प्रा.लि. (नीजि कम्पनी)ले   – कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउने

गैरसरकारी संस्था  – सम्बन्धित जिल्ला प्रशासनको कार्यालयमा बुझाउने

अगैसस – समाज कल्याण परिषद्‌मा बुझाउने

बैंक तथा वित्तीय संस्था – नेपाल राष्ट्र बैंकमा बुझाउने

सहकारी – सहकारी विभागमा बुझाउने

उद्योगहरू – उद्योग विभाग

सामुदायिक संस्था – स्थानीय सरकार

विद्यालयहरू – स्थानीय सरकार

अस्पतालहरू – स्थानीय सरकार वा प्रदेश सरकार वा संघीय सरकारको स्वास्थ्य मन्त्रालय

श्रम अडिट प्रतिवेदन बुझाउन शुल्क तिर्नुपर्दछ कि ?

श्रम अडिट प्रतिवेदन बुझाउँदा कुनै शुल्क लाग्दैन।

श्रम अडिटरलाई झुटो विवरण दिएमा के हुन्छ ?

श्रम अडिटरलाई झुटो विवरण दिनेलाई हरेक पटक रू २०,००० (बीस हजार रूपैयाँ) जरिवाना हुनेछ।

श्रम अडिटका बारेमा थप जानकारी कहाँ पाइन्छ ?

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग वा योग्य एवम् अनुभवी श्रम अडिटरलाई सम्पर्क गर्ने।

E:[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =