धनी गभर्नर : १० ठाउँमा जग्गा‚ ५६ हजारभन्दा बढी कित्ता सेयर

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकारीले पेश गरेको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरिएको हो ।
गर्भनर अधिकारीको १० ठाउँमा जग्गा, २७ तोला सुन, ५६ हजारभन्दा बढी कित्ता सेयर रहेको विवरणमा उल्लेख गरिएको छ । अधिकारीको नाममा सैंवु र मकवानपुरमा जग्गा रहको देखिएको छ भने बाँकी जग्गा उनकी श्रीमती सरिताको नाममा रहेको उक्त विवरणमा देखिएको छ ।
उनी बस्ने ललितपुरको घर श्रीमतीको नाममा रहेको र घर सञ्चयकोष, बैंकबाट ऋण र बचतबाट बनाएको उल्लेख गरिएको छ ।
गभर्नर अधिकारीसँग करिब २७ तोला सुनका गरगहना, विभिन्न बैंक र सहकारीमा अधिकारी र परिवारको नाममा १ लाख ६३ हजार ७६३ रुपैयाँ नगद मौज्दात रहेको छ ।
अधिकारीसँग नागरिक लगानीकोषको अवकास कोषमा १२ लाख २४ हजार ६०० रुपैयाँ र २ हजार २०२ अमेरिकी डलर बराबरको विदेशी मुद्रा रहेको उल्लेख गरिएको छ ।
गभर्नर अधिकारी, श्रीमती सरिता र उनका सन्तानका नाममा विभिन्न कम्पनीको ५६ हजार २१३ कित्ता सेयर र नबिल ब्यालेन्स फन्ड २ को १ लाख ८० हजार कित्ता सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।








