लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म

माओवादीले आक्रमण गर्दा पनि छाडेनन् राजतन्त्रको एजेन्डा

काठमाडौँ । राजेन्द्र लिङ्देन संसद्मा सांसदको रूपमा उपस्थित भएपछि धेरैको नजरमा परे । उनी झापा ३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । लिङ्देनलाई एमालेले समर्थन गरेको थियो । झापा ३ मा आफ्नो उम्मेदवार नउठाएर एमालेले लिङ्देनलाई सहयोग गरेको थियो । त्यसको बदलामा राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा सहयोग गरेको थियो ।

लिङ्देन राप्रपाका एकमात्र निर्वाचित सांसद हुन् । उनी राजाको प्रत्यक्ष शासनकालमा वि. स‌. २०६१ देखि २०६३ सम्म झापाको जिविस सभापति नियुक्त भएका थिए । उनी माओवादीको विरोध अवरोध र आक्रमणकाबीच पनि राजतन्त्रको पक्षमा निरन्तर उभिँदै आएका नेता हुन् । झापाको हल्दिबारीमा रहेको उनको घरमा आगजनी गरे भने उनलाई पनि आक्रमण गरेका थिए । २०६२/६३ को आन्दोलनका बेला झापाको बिर्तामोडमा माओवादीले कालोमोसो दले । घरमा आगो लगाइदिएपछि उनी त्यहाँबाट बिर्तामोडमा विस्थापित भए ।

याे पनि : थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

उनले केही समय झापाबाट धरानसम्म गाडी पनि चलाए । आफ्नै गाडी किनेर उनी आफैँ चलाउँथे ।

अहिले लिङ्देन बिर्तामोडको घर बेचेर झापाको हल्दिबारी गाउँपालिका गोल्धापमा रहेको पैतृक र माओवादीले आगजनी गरेको घर मर्मत गरेरफर्किएका छन् ।

राजनीतिक यात्रा
लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते *पाँचथरमा भएको थियो । प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले उनको बाल्यकाल भने झापामा बित्यो । राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका थिए ।

पछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइयाे, जसको संस्थापक अध्यक्ष थिए, लिङ्देन । ०४६ सालमा लिङ्देनको टोलीमाथि क्याम्पसका विद्यार्थी राम थापाको हत्या गरेको आरोप लागेको थियो । यो अभियोगमा उनी केही महिना जेल पनि परे । रमाइलो के छ भने त्यसबेला उनलाई जेलमुक्त गर्न उनको पक्षबाट वकालत गरेका अहिलेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नै उनले गत चुनाबमा हराएर सांसद बने । उक्त घटनाकाे चर्चा नसेलाउँदै २०४९ मा राप्रपाले गठन गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भए । उनी २०४७ सालमा राप्रपाको झापा सचिव बनेका थिए ।

थप : पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

०४६ सालमा प्रजातन्त्र स्थापना भए पनि राप्रपाको बोलवाला भने चर्को नै थियो । अर्कातिर विद्यार्थी संगठनको अध्यक्ष नै भएका कारण पनि लिङ्देनको प्रभाव झापामा बढ्न थालेको थियो । त्यही कारण ०४९ सालको स्थानीय निर्वाचनमा उनी झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भए । यस्तै ०५४ सालको स्थानीय निर्वाचनमा पनि उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

लिङ्देन पार्टी सचिवकै हैसियतमा वडाध्यक्षमा निर्वाचित भएपछि झापामा प्रभाव विस्तार गरेका थिए । जसले गर्दा ०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भए । कमल थापाले नेतृत्व गरेको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका लिङ्देनलाई ०६६ सालमा थापाको नेतृत्वकै राप्रपा नेपालले केन्द्रीय सदस्य बनाएको हो । ०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए । २०७८ मंसिर १८ गते भएको मतदान र १९ गते विहान सकिएको गणनाबाट उनी राप्रपाको अध्यक्षमा निर्वाचित भए । उनले प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।
(लिङ्देनको जन्म यसअघि ताप्लेजुङ रहेकोमा सच्याइएको छ । सम्पादक)

प्रतिक्रिया

One thought on “लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *