बिजुली चुलोमध्ये कुन प्रभावकारी ?

मनग्य बिजुली उत्पादन हुन थालेसँगै बिजुली चुलोको प्रयोगको चर्चा र प्रयास पनि बढेको छ । विदेशबाट ल्याउनुपर्ने खाना पकाउने ग्यास विस्थापन गरी स्वदेशमै उत्पादन हुने बिजुलीको उपभोग बढाउन प्रभावकारी हुने ठानिएको बिजुली चुलोको प्रयोग सस्तो पनि पर्ने यो क्षेत्रमा अध्ययन गरिरहेकाहरूले बताएका छन् ।

कुन प्रविधिको चुलो उपयुक्त ?
अहिले बजारमा खासगरी ४ प्रविधिमा आधारित बिजुली चुलो उपलब्ध छन् । वर्षौं अघिदेखि बिजुली चुलोको रूपमा नेपालीले प्रयोग गर्दै आएको माटे हिटर (क्वाइल हिटर) को प्रयोग एलपी ग्यासभन्दा पनि महँगो पर्ने अध्ययनले देखाएको छ । त्यस्तै, राइस कुकर (इलेक्ट्रिक राइस स्ट्रिमर) चामलको भात पकाउन मात्रै बढी उपयुक्त हुने देखिएको छ । ऊर्जा खपत, खाना पाक्न लाग्ने समय र खर्चका हिसाबले इलेक्ट्रोम्याग्नेटिक प्रविधिमा आधारित इन्डक्सन चुलो सबैभन्दा सस्तो पर्ने देखिएको छ ।

यो पनि : अध्ययन भन्छ- बिजुली चुलोमध्ये सबैभन्दा सस्तो इन्डक्सन

तर, इन्डक्सन प्रयोगको केही जटिलता पनि छन् । ‘पढेलेखेका व्यक्तिलाई इन्डक्सन सजिलो छ, किफायती पनि छ,’ बिजुली चुलोबारे गहन अध्ययन गरेका ऊर्जाविद् डा. जगन्नाथ श्रेष्ठ भन्छन्, ‘तर यो नेपाली भान्सामा गृहिणी र सबैका लागि सहज छैन । खाना पकाउने परिकारअनुसार अंक थिचेर भोल्टेज घटबढ गरिरहनुपर्ने बाध्यता छ । मान्छेले एक दुई रुपैयाँ लागत बढी परे पनि सहज हुने चिज प्रयोग गर्न खोज्ने भएकोले इन्डक्सन भन्दा नेपालका लागि इन्फ्रारेड चुलो नै उपयुक्त हुने देखिन्छ ।’

त्यस्तै बिजुली चुलोबारे अध्ययन र निर्माण गर्दै आएका दिगो विकास कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत धर्म केसीले पनि इन्डक्सनको तुलनामा इन्फ्रारेड नै सहज हुने बताए । ‘हामी इन्डक्सन र इन्फ्रारेड दुवै उत्पादन र बिक्री गर्छौं,’ उनले भने, ‘इन्डक्सन चुलो किनेर लैजाने एक सहसचिवले समेत प्रयोग गर्न झन्झटिलो र असहज भएको भन्दै थन्क्याएर राख्नु भएको रहेछ । इन्फ्रारेड प्रविधिमा आधारित ई–चुलोको माग भने अहिले बढिरहेको छ ।’

इन्फ्रारेड प्रविधिमा आधारित चुलो इन्डक्सनको तुलनामा थोरै महँगो पर्ने भए पनि ग्यास चुलोको जस्तो भोल्टेज घटबढ गर्ने बटनका कारण सहज भएको ऊर्जाविद् श्रेष्ठ र केसीको मत छ ।

स्थिर ताप हुने हुनाले इन्डक्सनमा दूधलगायत तरल पदार्थ तताउँदा उम्लिएर पोखिहाल्ने, आगो नदेखिने पोलेर खानुपर्ने चिज बनाउन, इलेक्ट्रोम्याग्नेटिक भएकोले त्यसलाई मिल्ने छुट्टै भाँडा किन्नुपर्ने, भोल्टेज घटबढ गरिरहनुपर्ने र ज्यादा चलाउँदा फ्युज जल्ने जस्ता समस्या देखिएको उनीहरूको भनाई छ । तर, इफ्रारेडमा त्यस्तो समस्या नदेखिएको पनि उनीहरूको बताउँछन् ।

‘भुटानमा विद्युत् उत्पादन बढेपछि सबैले इन्डक्सन चुलोका प्रयोग गर्ने अभियान चलाइयो,’ सीईओ केसी भन्छन्, ‘सबैले इन्डक्सन किने तर ग्यासको खपत घटेन । पछि बुझ्दा इन्डक्सन थन्क्याएर ग्यास नै चलाइरहेको पाइयो । त्यसपछि त्यहाँ इन्फ्रारेट प्रविधिको विद्युतीय चुलो चलाउन थालिएको छ ।’ इन्फ्रारेड चुलोमा समतल पीँध (बैठक) भएका जुनसुकै धातुको भाँडामा खाना बनाउन सकिन्छ ।

मुख्य पूर्वाधार बिजुली प्रसारण तथा वितरण सञ्जाल
माथिका सबै विषय तपसिलका हुन् । सबैभन्दा पहिला नेपालबाट ग्यास चुलो पूर्ण रूपमा विस्थापन गर्न बिजुलीको राष्ट्रिय प्रसारण तथा वितरण सञ्जालको क्षमता सुधार हुनै पर्छ । थ्रीफेजको वितरण लाइन र २२०० वाटसम्मको बिजुली चुलोमा सबै नेपालीले एकैपटक खाना बनाउँदा पनि धान्ने प्रसारण तथा वितरण सञ्जालको विकास भए मात्रै पूर्ण रूपमा ग्यास चुलो विस्थापन गर्न सकिन्छ ।

अहिलेकै अवस्थामा सबैले बिजुली चुलो प्रयोग गर्ने हो भने विगतको नाकाबन्दीको जस्तै कतै तार जल्ने त कतै ट्रान्सफर्मर पड्किने जस्तो समस्या दोहोरिन सक्छ । यद्यपि, नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण सञ्जाल सुधार गर्दै लाने बताएको छ ।

सम्बन्धित समाचार
-सुरक्षा निकायका ठूला भान्सामा बिजुली चुलाेमार्फत ग्यास विस्थापनको तयारी
-देशभित्रै खपत हुनसक्छ ५ हजार मेगावाट बिजुली
-बिजुलीमा खाना पकाएर जोगाउन सकिन्छ वार्षिक ५० अर्ब रुपैयाँ
-१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *