सुरक्षा निकायका ठूला भान्सामा बिजुली चुलाेमार्फत ग्यास विस्थापनको तयारी

बहसमा बिजुली चुलो

काठमाडौँ । सरकारले भान्सामा बिजुली चुलोको प्रयोग बढाउँदै क्रमशः एलपी ग्यास विस्थापन गर्ने कामलाई अभियानकै रुपमा अघि बढाउने भएको छ । खास गरी  पछिल्लो समय ऊर्जा मन्त्रालयले अघि सारेको ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ यो अभियान अघि बढाउन लागिएको छ ।

यो पनि
अध्ययन भन्छ- बिजुली चुलोमध्ये सबैभन्दा सस्तो इन्डक्सन

पहिलो चरणमा ठूला भान्साहरुबाट एलपी ग्यास विस्थापन गर्ने अवधारणा सरकारले अघि सारेको छ । देशमा राष्ट्रिय प्रसारण सञ्जालमा उपलब्ध बिजुलीको पर्याप्तताको आधारमा आन्तरिक खपत नबढाउने हो भने उत्पादित बिजुलीको बजार अभाव हुने भएकोले समेत सरकारले यो कामलाई अभियानकै रुपमा अघि बढाउन लागेको हो । बिजुली चुलोले ग्यास विस्थापन गर्न सके स्वच्छ ऊर्जाको प्रवर्द्धन हुने र ग्यास खरिदमा बाहिरिने वार्षिक ५० अर्ब रुपैयाँसमेत जोगिने छ ।

यो पनि
बिजुलीमा खाना पकाएर जोगाउन सकिन्छ वार्षिक ५० अर्ब रुपैयाँ

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूला भान्सा (मेस)मा बिजुली चुलोको प्रयोग र आयातित ग्यास विस्थापनका लागि ऊर्जामन्त्री पम्फा भुसालले एक साताअघि मात्रै छलफल गरेकी छन् । गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुलाई राखेर ऊर्जामन्त्री भुसालले छलफल गरेकी हुन् । उक्त छलफलले नेपाल प्रहरी र सशस्त्र प्रहरीको भान्सामा बिजुली चुलोको प्रयोगबारे आवश्यक अध्ययनसहित तयारी थाल्ने निर्देशन दिने निर्णय गरेको छलफलमा सहभागी गृह मन्त्रालयका सहसचिव (प्रवक्ता) फणिन्द्रमणी पोखरेलले बताए ।

‘अब एलपी ग्यासको साटो स्वच्छ र स्वदेशी ऊर्जाका रुपमा सुरक्षा निकायको भान्सामा बिजुली चुलोको प्रयोग गर्नेबारे अध्ययन गर्न र तयारी थाल्न निर्देशन दिने निर्णय भएअनुसार गृह मन्त्रालयले सुरक्षा निकायलाई त्यस किसिमको तयारी थाल्न निर्देशन पनि दिएको छ’ प्रवक्ता पोखरेलले मकालु खबरसँग भने ।

त्यस्तै, नेपाली सेनामा पनि स्वच्छ ऊर्जाका लागि बिजुली चुलोमा जानुपर्छ भन्ने अवधारणाअनुसार काम भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले मकालु खबरलाई बताए । ‘बिजुली चुलोका रुपमा २ वर्षअघि बाटै नेपाली सेनाका कतिपय युनिटहरुले आफ्नो मेसमा इलेक्ट्रिक राइस स्ट्रिमरको प्रयोग गर्न थालेका छन्,’ उनले भने, ‘८ वटासम्म ट्रे प्रयोग भएका र ८ केजीसम्म चामल पाक्ने राइस स्ट्रिमरहरु प्रयोग भइरहेका छन् ।’ तर, राइस स्ट्रिमर भात पकाउन मात्रै उपयुक्त देखिएकाले दाल तरकारीलगायत सबै किसिमका परिकार बनाउन सहज हुने बिजुली चुलोको प्रयोगबारे अहिले सेनामा छलफल भइरहेको उनले बताए ।

यो पनि
देशभित्रै खपत हुनसक्छ ५ हजार मेगावाट बिजुली

‘सेनामा २ वर्षअघिबाट मात्रै मट्टीतेलको प्रयोग छोडेर स्वच्छ ऊर्जाको रुपमा ग्यास चुलोको प्रयोग थालिएको हो,’ उनले भने, ‘अब बिजुली चुलोमा जान आवश्यक अध्ययन गर्ने विषयमा छलफल भइरहेको छ ।’

तीनवटै सुरक्षा निकायका ठूला भान्सामा बिजुली चुलोको प्रयोगका लागि खास गरी सरकारको नीतिगत निर्णय पनि महत्वपूर्ण हुने देखिएको छ । सुरक्षा निकायका जवान तथा कर्मचारीले पाउने रासन सुविधा, इन्धनका अधारमा उक्त इन्धनमा लाग्ने खर्च, सहजता जस्ता विषयमा अध्ययन गरि प्रष्ट नीति निर्माण हुन सके ग्यास बिस्थापन गरी बिजुली चुलोमा जान सहज हुने देखिएको छ ।

यो पनि
१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

ठूला मेसका लागि आवश्यक पर्ने उपयुक्त इन्फ्रारेड चुलो डिजाइन गर्न नेपालका इन्जिनियरहरु सक्षम रहेको उर्जाविद् प्रा. जगन्नाथ श्रेष्ठले  बताए । ‘सरकारले इन्जिनियरको सहयोग मात्रै मागोस् न,’ उनले भने, ‘हामी उपयुक्त डिजाइन र प्रविधिको बिजुली चुलो बनाएर दिन तयार छौँ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *