१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

सम्भव छ भान्साबाट ग्यास चुल्हो विस्थापन

काठमाडौँ । नेपालमा बेलाबेला बिजुली चुलोबाट खाना पकाउने कुरा चर्चामा आउँछ । तर फेरि त्यसै सेलाउँछ । खासगरी भारतीय नाकाबन्दीका बेला ग्यासको अभाव भएपछि बिजुली चुलोमा खाना बनाउने क्रम केही बढेको थियो तर नाकाबन्दी खुकुलो भएसँगै यो क्रमले खास गति लिएन ।

तर, केही समय अघिदेखि नेपालमा बढी भएको बिजुली भारतलाई बेच्न थालेपछि भने फेरि बिजुलीको आन्तरिक उपभोग बढाउने चर्चा केही बढेको छ । बिजुलीको खपत बढाउन र एलपी ग्यास खरिदका लागि बिदेशिने रकमलाई रोक्न बिजुली चुलोको प्रयोग एकदमै उपयोगी हुने देखिएको छ ।

एलपी ग्यास विस्थापन गर्न सकिने

हाल नेपालको जडित विद्युत् प्रसारण तथा वितरण प्रणालीमा बिजुलीको अभाव छैन । अर्थात् माग अनुसारको बिजुलीको आपूर्ति प्रणालीबाट भइरहेको छ । बरु, कतिपय ठाउँमा प्रसारण तथा वितरण लाइनको अभावमा उपलब्ध विद्युत् समेत पुर्याउन नसक्दा खेर गइरहेको छ ।

नेपालको विद्युत् उत्पादन क्षमता अहिले करिब २ हजार मेगावाट पुग्दा नै नेपाललाई प्रणालीमा बिजुली अभाव हुने समस्या हटेको छ । हाल निर्माणमा रहेका झण्डै ३ हजार ५ सय मेगावाट बराबरका जलविद्युत् आयोजना सञ्चालनमा आउँदा नेपाललाई बिजुली बढी हुने अनुमान गरिएको छ । यद्यपी, उक्त बिजुली बढी हुन नदिई आन्तरिक खपत बढाउने हो भने देशको आर्थिक समृद्धिमै टेवा दिने ऊर्जाविज्ञले बताउँदै आएका छन् ।

आन्तरिक विद्युत् खपत बढाउन हर क्षेत्रमा विद्युतीय प्रयोग बढाउन जरुरी छ । जस्तो कि विद्युतीय चुलोको प्रयोग, विद्युतीय सवारीको प्रयोग, विद्युतीय उपकरणहरुको प्रयोग, सिँचाईका लागि बिजुलीको प्रयोग, उद्योगलाई मागेजति बिजुली प्रदान गर्ने जस्ता उपाय छन् ।

यीमध्ये थोरै मेहनत र लगानीमा पनि ठूलो मात्रामा आन्तरिक खपत बढाउन सकिने उपाय भनेको बिजुली चुलोको प्रयोग नै हो । एलपी ग्यासमा खाना बनाइरहेका नेपालीहरुको भान्छामा बिजुली चुल्हो जोडेर प्रयोग गर्न सके खाना पकाउने ग्यासका लागि वार्षिक रुपमा विदेशिने ५० अर्ब रुपैयाँभन्दा बढी रकम जोगाउन सकिने देखिएको छ । अर्थात् वार्षिक ५० अर्ब रुपैयाँको आयातित ग्यासलाई बिजुली चुलोले प्रतिस्थापन गर्न सक्छ ।

याे पनि : बिजुलीमा खाना पकाएर जोगाउन सकिन्छ वार्षिक ५० अर्ब रुपैयाँ

ग्यास भन्दा आधा सस्तो

विद्युतीय चुलो अर्थात् इन्डक्सनको प्रयोग ग्यासको तुलनामा करीब ५० प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । ५ जनासम्मको परिवारका लागि इन्डक्सनबाट खाना पकाउँदा मासिक ५० युनिट विद्युतले पुग्ने देखिएको छ । प्रतियुनिट १० रुपैयाँका दरले महसुल बुझाउँदा पनि मासिक ५ सय रुपैयाँले पुग्ने देखिन्छ ।

ऊर्जा विज्ञ अमृतमान नकर्र्मीकाअनुसार ऊर्जा अध्ययन केन्द्रले २०१९ को नोभेम्बरमा गरेको अध्ययन अनुसार एलपी ग्यासभन्दा विद्युतीय चुलोबाट खाना पकाउँदा ४२ प्रतिशतसम्म सस्तो र ३२ प्रतिशत छिटो हुने देखिएको छ ।

सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले भने विद्युतीय चुलोको प्रयोग ग्रामीण भेगमा ग्यासभन्दा ५० प्रतिशतसम्म र सहरी क्षेत्रमा भने २५ देखि ३५ प्रतिशतसम्म सस्तो पर्ने देखिएको बताए ।

कति लाग्छ खर्च ?

विद्युतीय चुलो प्रयोगका लागि हाउस वायरिङ तथा आवश्यक उपकरणहरु खरिद गर्न र समग्रमा विद्युतीय चुलो प्रणाली जडान गर्न कति खर्च लाग्छ भन्ने आम रुपमा चासोको विषय बनेको छ ।

हाउस वायरिङ : इन्डक्सन चुल्होका लागि पुराना र थोरै एम्पियरको वायरिङ भएका घरमा भने केही समस्या हुन सक्छ । नयाँ घरमा भने सामान्यतया त्यस्तो समस्या नहुने जानकारहरु बताउँछन् ।

सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष ज्ञवालीका अनुसार ५ एम्पिएरसम्मको हाउस वायरिङ भएका घरमा पनि स्वीच बक्सबाट सिधै ७/२२ (विद्युत् प्रवाह हुने क्षमता) को डेडिकेटेड तार राखेर पावर सकेटमा जोड्ने हो भने उक्त सकेटबाट २ हजार वाटभन्दा कम क्षमतामा इन्डक्सन चुलो चलाउन सकिन्छ ।

यसका लागि आफ्नो विद्युत् मिटरदेखि भान्सासम्मका लागि तार खरिद गर्नुपर्छ । प्रतिमिटर ४० रुपैयाँसम्म पर्ने उक्त तार, पावर सकेट समेत गरेर इन्डक्सनका लागि विद्युत् आपूर्तिको व्यवस्था गर्ने हो भने १ हजार रुपैयाँ जति मात्र लगानी गर्नु पर्छ । त्यस्तै, ५ एम्पीएरमाथिको क्षमताको मिटर र वायरिङ छ भने पनि इन्डक्सनका लागि डेडिकेटेड लाइन नै स्वीच बक्सबाट किचेनसम्म पुर्याउनु उपयुक्त हुन्छ ।

विद्युतीय चुलो : बजारमा विद्युतीय चुलो २ प्रकारका पाइन्छन्– इन्डक्सन र इन्फ्रारेड (हिटर) । यीमध्ये इन्डक्सन सुरक्षित मानिन्छ । हिटरको तुलनामा इन्डक्सनले विद्युत् खपत पनि कम गर्दछ ।

बजारमा एक मुखे इन्डक्सन चुलोको ३ हजार ५ सय देखि ४ हजार रुपैयाँसम्म पर्दछ । दुईमुखेको ७ हजार रुपैयासम्म पर्छ । गुणस्तर, ब्रान्ड र सुविधा अनुसार १२ हजार रुपैयाँसम्मको इन्डक्सन चुल्हो पाइन्छ ।

भाँडा : इन्डक्सनका लागि छुट्टै प्रकारका भाँडा चाहिन्छ । तर यस्ता भाँडाको मूल्य पनि खासै महँगो छैन । इन्डक्सनका लागि मात्रै काम गर्ने ३ लिटरको कुकरको मूल्य १२ सय देखि १५ सय रुपैयाँसम्म पर्छ । त्यस्तै, ५ लिटरको कुकरको मूल्य १४ सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म पर्छ । स्टिलको कुकर घरमा छ भने इन्डक्सनकै लागि छुट्टै कुकर किन्नु पर्दैन ।

त्यस्तै इन्डक्सनका चाहिने कराईको मूल्य बजारमा बढीमा १५ सय रुपैयाँसम्म पर्छ । त्यस्तै, एउटा चिया पकाउने भाँडा पनि १ हजार रुपैयाँसम्ममा किन्न सकिन्छ । अहिले बजारमा इन्डक्सन र ग्यास चुल्हो दुबैमा काम गर्ने खाना बनाउने भाँडाहरु पनि धेरै कम्पनीले उत्पादन गरिरहेका छन् ।

यसरी कम्तिमा १२ हजार रुपैयाँसम्ममै इन्डक्सन चुलो प्रणाली जडान गरी घरमा विद्युत्बाट खाना पाउन सकिन्छ । यसले ग्यासको सिलिन्डर ल्याउनु पर्ने र राख्नुपर्ने झण्झटबाट समेत मुक्ति पाइन्छ । यस्तै एलपी ग्यास आयात गर्दा भारत जाने गरेको वर्षको ५० अर्ब रुपैयाँसम्म जागाउने सकिन्छ भने यसले भान्साको मासिक खर्च समेत घट्ने छ ।

याे पनि : उद्योगले मागेजती बिजुली दिन सके जोगिन्छ बर्षको ३२ अर्ब

प्रतिक्रिया

One thought on “१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

  1. म ग्यास र इन्डक्सन दुवै चलाइरहेको छु । सस्तो परेजस्तो लाग्दैन । बेलाबेला बत्ती जाने हुनाले ग्यास राख्नै पर्ने बाध्यता हुँदै आएको छ । म २०७२ नाकाबन्दी यता एउटा इन्डकस्न प्रयोग गरिरहेको छु । दुई मुखे चूलोको पनि फेसबुकमा विज्ञापन देखेको छु । लेखमा भनेजस्तो महँगो मूल्य त्यसको मूल्यमा भनेको देखेको छैन । अर्को एउटा २३ वर्षे युवाले बजारमा ल्याएको अगेनो पनि छ रे । अब दुई मुखेको खोजीमा छु र बिजुली चूलोमै जोड दिने पक्षमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *