एमाले ऐना-६

अबको एमाले : ओलीको एकाधिकार, पार्टीभित्र शून्य प्रतिपक्ष !

काठमाडौँ । नेकपा (एमाले) को १०औँ अधिवेशन सुरु हुँदा अध्यक्षमा केपी ओलीलाई चुनौती दिन सक्ने अर्को नेता देखिएको छैन । भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि उनी प्रतिस्पर्धामा देखिँदैनन् ।

कतिपयले त उनको उम्मेदवारी नै अन्तिमसम्म नरहने हो कि भन्ने लख पनि काटिरहेका छन् । हुन पनि एमालेभित्र तत्कालीन माधव नेपाल पक्षमा रहेका र पछि नेपालले पार्टी फुटाएर जाँदा एमालेमै रहेकाहरूले नै पनि रावललाई सहयोग गर्ने अवस्था देखिँदैन । उनीहरू अध्यक्षमा ओलीको विकल्प नभएको भन्दै ओलीको आशीर्वाद पाउन कम्मर कसेर लागेका छन् ।

एमाले फुटको कारण पार्टीमा अहिले शीर्ष तहमा ‘नेता’ को कमी देखिएको छ । माले र मार्क्सवादीका कतिपय नेताले पार्टी छाडेका छन् भने कतिपयको मृत्यु भएको छ । एमालेमा ओलीको उदयपछि सैद्धान्तिक बहसहरू भुत्ते हुँदै जाँदा पनि नेताको कमी देखिएको हो । अहिले एमालेमा अध्यक्ष र वरिष्ठ नेताको दाबी गरिरहेका ओली, रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र घनश्याम भुसाल नै एमालेका प्रमुख नेता हुन् । पछिल्लो समय पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा पनि छन् । तर उनले एमालेभित्र कुनै सैद्धान्तिक बहस गर्ने ल्याकत राख्दैनन् ।

  एमाले ऐना-१
इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा ?

यी नेतामध्ये रावल र भुसाल केन्द्रीय भूमिकाबाट बाहिरिने पक्का जस्तै छ । ओली विरोधी कित्ताका भएकाले उनीहरूले महाधिवेशनबाट शीर्ष भूमिका पाउने सम्भावना केवल गणितीय मात्र छ । भुसालले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।

तर, एमालेको इतिहास हेर्ने हो भने यति ‘उत्साहहीन’ महाधिवेशन शायदै भएको थियो । हरेक महाधिवेशनमा कि नीति कि नेतृत्वलाई लिएर कार्यकर्ताको मात्र होइन आम जनताको पनि चासो हुने गरेको थियो । नीतिमाथि बहस गर्ने नेताको कुनै कमी थिएन । दुई वा त्योभन्दा बढी धारको घर्षणले पार्टीमा बहस गरमागरम हुने गरेको थियो । जसले पार्टीलाई ’भाइब्रेट’ गराइराख्थ्यो ।

पाँचौँ महाधिवेशन (२०४९) ताका नेकपा (एमाले) ‘नेताहरूको पार्टी’ थियो । नेकपा (माले) बाट आएका युवा नेताहरूको बाहुल्य पार्टीमा थियो । उता नेकपा (मार्क्सवादी) का ‘वरिष्ठ’ नेताहरू पनि छँदै थिए । जसकारण माले र मार्क्सवादी एकीकरणबाट एमाले बनेपछि नेता व्यवस्थापनमा समस्या देखिएको थियो ।

महाधिवेशनबाट ४२ सदस्यीय केन्द्रीय कमिटी बन्दा प्रदीप नेपाल र अष्टलक्ष्मी शाक्यजस्ता मालेकालमा केन्द्रीय सदस्य भइसकेका नेता बाहिर परे । यसले असन्तुष्टि जन्माएको थियो । नेपालले त पार्टी छाडेकै घोषणा गरेका थिए । त्यसपछि उनलाई केन्द्रीय कमिटीमा ल्याइएको थियो । प्रदीप नेपाललाई भीम आचार्यसँगै लेखा परीक्षण आयोगमा राखिएको थियो । घनेन्द्र बस्नेत, जीतवीर लामा, सुवास नेम्वाङ जस्ता नेता केन्द्रीय अनुशासन समितिमा थिए ।

एमाले ऐना-२
एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

पाँचौँ महाधिवेशनमा १० सदस्यीय पोलिटब्यूरो थियो । त्यति बेलाका पोलिटब्यूरो सदस्यमध्ये मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रित, साहना प्रधान र भरतमोहन अधिकारीको मृत्यु भइसकेको छ । माधव नेपाल, सीपी मैनाली, झलनाथ खनाल र सिद्धिलाल सिंहले एमाले छोडेका छन् । अहिले त्यसबेलाका केपी ओली मात्र एमालेमा छन् र पार्टी हाँकिरहेका छन् ।

३२ जना केन्द्रीय सदस्यमध्ये अशोक राई, वामदेव गौतम, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, सितानन्दन राय, जितेन्द्र देवसहित १४ जनाले एमाले छाडेका छन् । अहिले पदाधिकारी रहेका भीम रावल, घनश्याम भुसाल, शंकर पोखरेल, योगेश भट्टराई लगायत नेता त्यस बेला केन्द्रीय तहमा थिएनन् ।

एमालेबाट को कहिले बाहिरिए ?
दुई पार्टीबीच एकीकरण भएर एमाले बन्दा माले र मार्क्सवादीका कतिपय नेता सन्तुष्ट थिएनन् । तीमध्ये कतिपय नेता एकीकरणपछि नै बाहिरिन थालेका थिए । पूर्वमार्क्सवादी नेताहरूको एउटा समूह पार्टी गठनको केही समयपछि नै बाहिरिएको थियो । उनीहरूले ‘पुष्पलाल कृति अध्ययन तथा प्रकाशन केन्द्र’ खोलेर पार्टी पुनर्गठनको प्रक्रिया थालेका थिए । यसरी बाहिरिनेमा प्रभुनारायण चौधरी, माधव ज्ञवाली, केशवमणि पोखरेल, तिलक पराजुली, शरणविक्रम मल्ल, लोकनारायण सुवेदी, बोधराज काफ्लेलगायत थिए ।

त्यसपछि पनि केशरमणि पोखरेल, बलराम उपाध्याय लगायत केही नेताले एमाले परित्याग गरेका थिए । तर, ठूलो फुट २०५४ सालमा भयो । त्यस बेला माले गठन गरेर गएका नेताहरू पार्टी एकता गरेर २०५८ सालमा पुनः एमालेमा नै फर्किएका थिए । तर, सीपी मैनालीले मालेलाई नै सक्रिय बनाइरहे । उनी अहिले पनि एमालेभन्दा बाहिर नै छन् ।

एमाले ऐना-३
यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’

२०६२÷६३ सालको आन्दोलनपछि मधेस आन्दोलन चल्यो । आन्दोलनको रापतापमा मधेसी जनअधिकार फोरम जन्मियो । त्यही बेला एमालेबाट महिन्द्र राय यादव, सितानन्दन राय र जितेन्द्र देव बाहिरिए । जितेन्द्र देव विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिक हुँदै अहिले नेपाली कांग्रेसमा पुगेका छन् । उनी राष्ट्रिय सभाका सांसद पनि हुन् । महिन्द्र राय यादव भने जनता समाजवादी पार्टीमा छन् ।

एमालेमा अर्को ठूलो फुट २०६९ सालमा भयो । अशोक राईको नेतृत्वमा विजय सुब्बा, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठलगायत नेताले एमाले छाडेर संघीय समाजवादी पार्टी गठन गरे । अशोक २०६५ सालको आठौँ महाधिवेशनमा लोकप्रिय मतसहित उपाध्यक्ष पदमा विजयी भएका थिए ।

संघीय समाजवादीमा गएका विजय सुब्बा एमालेमै फर्किए पनि राई, चेम्जोङ, श्रेष्ठलगायत नेता फर्किएनन् । अहिले उनीहरू उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीमा सक्रिय छन् । २०६९ सालमा नै रामचन्द्र झा र उर्मिला अर्यालले पनि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अर्याल अहिले पनि माओवादी केन्द्रमा नै सक्रिय छिन् भने झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

एमालेलाई सबैभन्दा ठूलो धक्का पछिल्लो पटकको पार्टी विभाजनले लागको छ । यो विभाजनका कारण अहिलेसम्म भएका एमालेका ६ वटा महाधिवेशनमा सँगै रहेका नेताहरू अलग भएका छन् । केही महिनाअघि गठन भएको नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष नेपालसहित, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे, घनश्याम खतिवडा लगायत नेता सक्रिय छन् । राजेन्द्र राई, रामकुमारी झाँक्री जस्ता युवा नेता पनि त्यतै लागेका छन् ।

पार्टीभित्र हक्की स्वभावका मानिने वामदेव गौतमले पनि एमाले छोडेका छन् । उनी ओली रहन्जेल एमाले फर्किन्न भनिरहेका छन् ।

कस्तो बन्दैछ अबको एमाले ?
अबको एमाले अध्यक्ष केपी ओली हुने लगभग निश्चित छ । तर, उनको टीममा को–को आउँछन् भन्ने निश्चित छैन । तर, माधव नेपालको साथ छाडेर एमालेमै रहेका ‘१० भाइ’का लागि भने यो महाधिवेशनपछि पार्टीका महत्त्वपूर्ण पदमा ठाउँ पाउन मुस्किल हुने अनुमान गरिएको छ ।

एमाले ऐना-४
डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’

अध्यक्षका प्रत्याशी बन्ने घोषणा गरेका भीम रावल पार्टीको पदाधिकारीबाट बाहिरिने निश्चितजस्तै छ । ओलीले आफूलाई सर्वसम्मत बनाउन रावललाई कुनै पदमा व्यवस्थापन गर्ने प्रस्ताव गर्न सक्ने झिनो सम्भावना भने रहेको नेताहरू बताउँछन् । त्यसैगरी घनश्याम भुसालले सहमति नभए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुवास नेम्वाङले पनि सोही पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । ईश्वर पोखरेलले अहिलेसम्म घोषणा नगरे पनि उनी उम्मेदवार बन्ने अनुमान छ । यस्तो अवस्थामा नेम्वाङ र पोखरेलमध्ये एक जना उक्त पदमा पुग्ने छन् ।

उपाध्यक्षमा अहिलेसम्म रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, किरण गुरुङ, रघुजी पन्त र लालबाबु पण्डितले चाहना व्यक्त गरेका छन्। अघिल्लो महाधिवेशनमा पराजित सुरेन्द्र पाण्डेले पनि महासचिवभन्दा तल प्रतिस्पर्धा नगर्ने बताएका छन् । एमालेमा चारजना उपाध्यक्ष हुनेछन् । जसमा बादल र अष्टलक्ष्मीका लागि अहिलेसम्म सुरक्षित मानिएको छ । त्यसबाहेक दुई पदका लागि बाँकी आकाङ्क्षीबाट को आउँछन् भन्न गाह्रो छ । तर, ओली विरोधी मानिएका पन्त, ज्ञवाली र पाण्डेलाई उक्त पदमा आउन मुस्किल छ ।

यता महासचिवका लागि शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र पृथ्वी सुब्बा गुरुङको दाबी छ । शंकर पोखरेलका लागि सहमति भए विष्णु पौडेल उपाध्यक्षमा र पृथ्वी सुब्बा गुरुङ उपमहासचिवमा जान सक्छन् । तर, पौडेलले पोखरेललाई ठाउँ छोड्न मुस्किल देखिएको छ । पृथ्वी सुब्बाले भने अन्त्यमा उपमहासचिव वा उपाध्यक्षमा चित्त बुझाउन सक्छन् । पौडेल र पोखरेलमध्येबाटै एमालेको आगामी अध्यक्ष हुने आङ्कलन गरिएकोले पनि उनीहरूबीच महासचिवका लागि प्रतिस्पर्धा हुने सम्भावना छ ।

उपमहासचिवमा गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विन्दा पाण्डेले आकाङ्क्षा राखेका छन् । यसअघि दुई उपमहासचिवको पद थियो । तर, यसपटक त्यसलाई एक जनामा झारिएको छ । ‘दश भाइ’ मा रहेका विष्टका लागि यो पदमा पुग्न मुस्किल पर्न सक्छ । त्यस्तोमा ज्ञवाली र पाण्डेबीच प्रतिस्पर्धा हुन सक्ने छ ।

केन्द्रीय सदस्यबाट माथि उक्लिने नजिकको पद सचिवमा भने धेरैले आकाङ्क्षा राखेका छन् । एमालेमा सात सचिव हुनेछन् । योगेश भट्टराईले सचिवमा दोहोरिने बताइसकेका छन् । त्यसबाहेक गुरु बराल, महेश बस्नेत, गोकुल बास्कोटा, भीम आचार्य, शेरधन राई, कर्ण थापा, शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, पद्या अर्याल, भानुभक्त ढकाल, खगराज अधिकारीलगायत सचिवका आकाङ्क्षी हुन् । माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पनि सचिवमा समायोजन गर्नुपर्ने बाध्यता ओलीलाई छ । त्यसकारण सचिवमा यसपटक कडा टक्कर हुनेछ ।

एमाले ऐना-५
एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए

त्यसैले ओलीकै विश्वासपात्रले पनि यसपटक सचिवबाट हात धुनुपर्ने हुन सक्छ । गुरु बराल, महेश बस्नेत, गोकुल बास्कोटा, शेरधन राई, कर्ण थापा, पद्या अर्याल, भानुभक्त ढकाल, खगराज अधिकारी सबै ओलीका निकटका नेता हुन् । यीमध्येबाटै धेरैजसो सचिवमा आउने छन् भने माओवादीबाट आएका रायमाझी र भट्टमध्ये एक जना पर्न सक्ने छन् ।

यसपटक एमालेले पदाधिकारीमा आरक्षण दिएको छैन । उपाध्यक्ष र सचिव बहुसंख्या भए पनि समावेशी गरिएको छैन । त्यसैले यसपटक पदाधिकारीमा पुरुष र त्यसमा पनि पहाडे बाहुन क्षेत्रीकै बाहुल्यता हुने निश्चित छ । तर, केन्द्रीय समिति भने समावेशी बन्ने छ । त्यसमा पनि ७५ जनाभन्दा बढी केन्द्रीय सदस्य महिला हुनेछन् ।

अबको एमालेमा माधव नेपाल हुने छैनन् । उनका समूहलाई भीम रावलले नेतृत्व प्रदान गर्ने प्रयास गरेका छन् । तर, उक्त समूहका नगण्य सदस्य मात्र केन्द्रीय समितिमा हुने सम्भावना छ । रावल, भुसाल, विष्ट, पन्त लगायत नेता केन्द्रीय कमिटीभन्दा माथि हुन नसक्ने धेरैको अनुमान छ । यसकारण अबको एमालेमा ओलीको एकाधिकार कायम रहनेछ । उनले रोजेका र लामो समयदेखि उनकै साथमा रहेका नेतालाई लिएर उनले एमाले चलाउने छन् । र, एमालेभित्र उसको राजनीतिक जीवनकै सम्भवतः कमजोर विपक्ष हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *